Logo

बारा–२ मा उपेन्द्र यादवलाई कसैले रोक्न सक्दैन– राजकिशोर यादव



काठमाडौं, १० चैत्र । जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेता एवं संघीय सांसद राजकिशोर यादवले बारा क्षेत्र नम्बर–२ मा उपेन्द्र यादवको जीत निश्चित रहेको दाबी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बारा–२ मा उपेन्द्र ससम्मान निर्वाचित भएर आउने दाबी गरेका हुन् ।

‘उहाँ (उपेन्द्र यादव) को उम्मेदवारी परेपछि त्यहाँको माहोल नै अर्को हुन्छ । उहाँ ससम्मान निर्वाचित भएर आउनु हुन्छ । कसैले टाउको फोरेपनि रोक्नसक्ने स्थिति छैन,’– उनले भने ।

गत मंसिर ४ मा भएको निर्वाचना बारा क्षेत्र नं २ मा सिके राउतको पार्टी चौथो भएको उनले बताए । उक्त क्षेत्रमा जसपा बाहेक अरु कसैको गुञ्जायस नरहेको उनको दाबी छ । बारा– २ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने बारेमा उपेन्द्र यादव अहिलेसम्म तयार भइनसकेको उनले बताए । आफूहरुले उपेन्द्रलाई उम्मेदवार बनाउन जोडबल गरिरहेको पनि उनले खुलासा गरे । उक्त क्षेत्रमा जसपाको उम्मेदवार निर्वाचित हुनेमा ग्यारेन्टी रहेको उनको भनाई छ ।

‘अहिलेसम्म उहाँ तयार हुनु भएको छैन । हामीले उहाँलाई उम्मेदवारी दिन लगाउँछौं । हाम्रो जोडबल छ, उहाँले उम्मेदवारी दिनुपर्छ । यो संसद्मा उहाँको आवश्यकता छ । उम्मेदवारी दिनेवित्तिकै उहाँ निर्वाचित हुने ग्यारेन्टी छ,’– उनले भने ।

बारा क्षेत्र नं २ मा जसपालाई कुनै समस्या नै नभएको उनले बताए । सिके राउतले हिजो मधेशमा बसेको पहाडियालाई फिरंगीको संज्ञा दिएको उनले आरोप लगाए । आज उनी राउतले उपेन्द्रलाई बारा २ मा फिरंगीको आरोप लगाएको उनले बताए । सिके राउतले उपेन्द्रलाई गाली गरेर आफू स्थापित हुन खोजेको उनले आरोप लगाए । राउतको विगतदेखि अहिलेसम्मका सबै क्रियाकलाप गलत रहेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्