Logo

मन्त्रिपरिषद् विस्तारको मुखमा माधव नेपालले किन गरे नेकपा व्युँताउने प्रस्ताव, प्रचण्डले के गर्लान् ?



काठमाडौं, १० चैत्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एक्कासी नेकपा व्युँताउनुपर्ने पक्षमा उभिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरि छलफल थालेको बेला अध्यक्ष नेपालले यस्तो प्रस्ताव गरेका हुन् ।

आफूले नेकपा व्युँताउने प्रस्ताव गरेको कुरा स्वयम नेपालले खुलासा गरेका छन् । आजमात्रै नेपालले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए । बालुवाटारको भेटवार्तामा दुई नेताबीच मूलतः मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको बताईएको थियो ।

नेपालले भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा बोल्दै आफूले बिहानको भेटमा प्रधानमन्त्री दाहाललाई नेकपा रिभाइभ गर्ने प्रस्ताव राखेको खुलासा गरेका हुन् । उनले सम्बोधनको क्रममा भने–‘आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मेरो कुराकानी भयो । मैले भने, हाम्रो पार्टीले पुरानो नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ ?’

उनले आफूले राष्ट्रपतिको चुनावका बेला पनि सोही प्रस्ताव राखेको खुलासा गरे । तर, त्यसको लागि प्रधानमन्त्री दाहाल तयार नभएको उनको दाबी छ । उनले अहिले कम्युनिष्ट पार्टीले धक्का खाएको टिप्पणी गरे । अहिलेपनि कम्युनिष्टबीच एकताको आवश्यकत्ता रहेको उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले भने नेकपा रिभाईभ गर्नेबारे कुनै ठोस जवाफ नदिएको बुझिएको छ । प्रधानमन्त्री दाहाल एमालेसँग एकता गरिहाल्ने पक्षमा नरहेको माओवादी केन्द्रका नेताहरुको भनाई छ । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्