Logo

एमालेको अहंकारका कारण कम्युनिष्टहरुले धक्का खाए– माधव नेपाल



काठमाडौं, १० चैत्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अहिले विश्वभर नै कम्युनिष्टहरुको लहर सुरु भएको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा भएको पार्टी निकट भूपु सैनिकहरुको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवाद सबै भन्दा उत्कृष्ट व्यवस्था भएको र त्यसको लहर विश्वमा चलेको बताएका हुन् । ‘समाजवाद सबैभन्दा उत्कृष्ट व्यवस्था हो । त्यही समाजवादको मान्यतालाई अवलम्वन गर्दै हामी अगाडि बढिरहेका छौं,’– उनले भने ।

एमालेको अहंकारको कारण नेपालमा गत निर्वाचनमा कम्युनिष्टहरुले धक्का खानु परेको उनले बताए । एमालेको अहंकारकै कारण प्रचण्ड प्रधानमन्त्री बन्दा एकीकृत समाजवादीलाई कुनै वास्ता नगरिएको उनले बताए । ‘हामीले ०७९ सालको चुनावमा धक्का खायौं । धक्का खानुको पछाडिको कारण एमालेको नेतृत्वमा रहेको अहंकार हो । त्यो अहंकारले गर्दा पुष्पकमल दाहाल प्रधानमन्त्री हुने अवस्था बन्यो । हाम्रो पार्टीलाई कुनै वास्ता गरिएन । सरकारमा सहभागी बन्नका लागि एकपटक पनि बोलाइएन । एक पटक पनि प्रस्ताव राखिएन,’– उनले भने ।

एमाले–माओवादीबीच विश्वासको वातावरण नबन्दा आफ्नो हातबाट सबै उम्किने अवस्थामा एमालेका नेताहरुले दौडधुप गरेको उनले बताए । आफूलाई राष्ट्रपतिका लागि औपचारिक प्रस्ताव नआएपनि एमालेले गलत प्रचार गरेको उनको आरोप छ ।

जब आफ्नो हातबाट सबै उम्किने अवस्था सुरु भएपछि दौडधुप सुरु भयो । दौडधुप सुरु भएपछि पनि एकीकृत समाजवादीका नेतालाई राष्ट्रपति बनाउन तयार भएपनि नमानेपछि हामी के गरौं भनेर गलत प्रचार भयो । कुनै प्रस्ताव औपचारिक रुपमा आएको छैन । कुनै प्रस्ताव आधिकारिक रुपमा आएको छैन । बजारमा हल्ला के आयो भने– माधव नेपालले राष्ट्रपति माग्या थिए । मैले हुन्छ त भनेको थिएँ । शेरबहादुरको पाऊ मल्न पो तयार परे !’ यस्तो यस्तो गलत प्रचार गरेपछि,’– उनले भने । File Photo 



प्रतिक्रिया दिनुहोस्