Logo

घरेलु उद्योगमा बागमतीको हिस्सा माथि, कर्णाली कमजोर



काठमाडौं, १० चैत्र । मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको घरेलु व्यवसाय तथा उद्योग सञ्चालन गर्नेमा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ। अन्य प्रदेशमा पनि घरेलु उद्योग सञ्चालन गर्न सकिने भए पनि सङ्घीय राजधानी रहेको बागमती प्रदेशको हिस्सा बढी छ।

आर्थिकरूपमा पछाडि परेको कर्णाली प्रदेश घरेलु उद्योगमा समेत कमजोर अवस्थामा रहँदा बागमती प्रदेशको हिस्सा बढी रहेको राष्ट्रिय जनगणनाको पछिल्लो विवरणमा उल्लेख छ। देशभर कुनै पनि सरकारी निकायमा दर्ता नगरेका र एक जना पनि तलबी कामदार नराखेका कृषिबाहेकका साना घरेलु व्यवसाय सञ्चालन गरेका परिवार छ लाख २७ हजार आठ सय ८७ छन्।

साना घरेलु व्यवसाय सञ्चालन गर्ने कूल परिवारमध्ये घरेलु उद्योग सञ्चालन गर्ने परिवार नौ दशमलव् चार प्रतिशत रहेको छ। साना घरेलु व्यवसाय सञ्चालन गर्ने कूल परिवारमध्ये घरेलु उद्योग एक लाख ३७ हजार छ सय ४४ बराबर छ।

व्यापार व्यवसायमा तीन लाख १० हजार छ सय ५१, यातायातमा ३४ हजार छ सय ५६, सेवा क्षेत्रमा ६९ हजार एक सय ७७ र अन्य व्यवसायमा ७५ हजार पाँच सय ५९ बराबर छ। साना घरेलु व्यवसायमध्ये मुख्यरूपमा पुरुषले सञ्चालन गरेका ५५ प्रतिशत र महिलाले सञ्चालन गरेका ४५ प्रतिशत छन्।

यस्तै जनगणनाअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्याको ३३ दशमलव एक प्रतिशत मानिस अविवाहित छन् भने ६१ दशमलव आठ प्रतिशत मानिस विवाहित छन्। राष्ट्रिय जनगणना २०७८ को नतिजाले धेरैजसो व्यक्ति ३४ दशमलव चार प्रतिशतको विवाह १८ देखि २० वर्षको उमेरमा भएको देखाएको छ। मुलुकको कूल साक्षरता दर ६७ दशमलव तीन प्रतिशत बराबर छ। पुरुषको साक्षरता दर ८३ दशमलव छ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९ दशमलव चार प्रतिशत छ। रासस



प्रतिक्रिया दिनुहोस्