Logo

पहाडमा विदेशीको बसोबास बढ्दो



काठमाडौं, चैत ११। नेपालमा विदेशी व्यक्तिको बसोबासले पहाड ताक्दै गरेको यस जनगणनाको तथ्याङ्कले देखाएको छ । स्वदेशी जनसङ्ख्याले पहाड छाडेर तराई ताक्दै गर्दा विदेशीको आकर्षण पहाडको स्वच्छ हावापानीतर्फ उन्मुख देखिएको हो ।

छिमेकी मुलुक भारतसँग सिमाना जोडिएका हिसाबले तराई भेगमा बढी भारतीय मूलका विदेशी हुनु स्वाभाविक हो । तर पहाडी भेगमा पनि भारतीयलगायतका विदेशी नागरिकको आकर्षण बढेको तथ्य राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रस्तुत गरेको छ । भौगोलिक सिमाना जोडिएको छिमेकी मुलुक चीन र भारतसँगै तेस्रो मुलुकका बासिन्दाको ठूलो सङ्ख्या पहाड उक्लँदै गरेको तथ्यले प्रस्ट पार्छ । भौगोलिक विभाजनअनुसार कुल विदेशी नागरिकमध्ये तराई भेगमा ०.४८ र पहाडमा ०.४७ प्रतिशत भारतीय नागरिक पुगेका छन् । सङ्ख्यात्मक रूपमा हेर्दा पहाडमा ५४ हजार ८३९ जना भारतीय नागरिक फेला परेका छन् । तराईमा ७५ हजार ८२३ जना भारतीय नागरिकको बसोबास भेटिएको छ ।

त्यस्तै हिमाली भेगमा ०.१२ प्रतिशत भारतीय नागरिक अर्थात् दुई हजार ११९ जना रहेका छन् । चिनियाँ नागरिकको पहुँच हिमालबाट पहाडतिर उन्मुख देखिन्छ । जसअनुसार हिमाली भेगमा ०.०२ अर्थात् २७७ जना र पहाडमा ०.०१ प्रतिशत अर्थात् एक हजार ४१६ जना चिनियाँ नागरिक भेटिएका छन् । तराईमा पनि पछिल्लो समय १८९ जना चिनियाँ नागरिकको उपस्थिति पाइएको छ । तेस्रो मुलुकका एक हजार ६२९ जना पहाडमा रहेको भेटिएको छ । देश नखुलेका विदेशीको पहुँच पनि पहाडमा बढेको छ ।

विदेशी नागरिक शरणार्थीका रूपमा वा वैध, अवैध रूपमा नेपालमा बसोबास गरिरहेको पाइएको हो । नेपालमा कुल जनसङ्ख्यामध्ये ०.४७ प्रतिशत विदेशी नागरिक रहेको जनगणनाको अन्तिम निष्कर्षमा उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै ०.४६ प्रतिशत भारतीय नागरिकको बसोबास नेपालमा रहेको खुलेको छ । त्यस्तै ०.०१ प्रतिशत चिनियाँ नागरिक, दक्षिण एसियाली क्षेत्रबाहेकका देशका ०.० प्रतिशत र ०.०१ प्रतिशत देश नखुलेका नागरिक रहेको तथ्याङ्क विभागले जनाएको छ । तथ्यगत रूपमा विवरणमा नसमेटिएका सङ्ख्या अझ धेरै हुनसक्ने अनुमान गरिएको छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्