Logo

उपेन्द्रलाई लोसपा र जनमतले साझा उम्मेदवार बन्न नदिने



काठमाडौं, चैत ११ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बारा २ मा उम्मेदवारी दिने पक्कापक्की भएको छ। तर उनलाई तराई मधेसकेन्द्रित दल जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा)ले सत्तारुढ १० दलीय गठबन्धनबाट साझा उम्मेदवार बन्न नदिने रणनीति बनाएका छन्।

उपनिर्वाचनमा बारा २ मा कुनै पनि अवस्थामा उम्मेदवारी दिने जनमत पार्टीका नेताहरूको भनाइ छ। लोसपाको शुक्रबार बसेको कार्यकारिणी बैठकले बारा २ मा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ। बारा २ जसपाका अध्यक्ष यादवविरुद्ध जनमत र लोसपाले मोर्चाबन्दी गर्ने भएका छन्। जसपाका नेताहरू भने बारा २ मा सत्तारुढ १० दलीय गठबन्धनबाट यादवलाई साझा उम्मेदवार बनाउन प्रयास गरेका छन्। जसपाका नेताले जति प्रयास गरे पनि यादव बारा २ मा १० दलीय गठबन्धनबाट साझा उम्मेदवार बन्न नसक्ने ठोकुवा जनमत पार्टीका महासचिव चन्दन सिंहले गरे। ‘बारा २ मा हामी कुनै पनि अवस्थामा उम्मेदवार दिन्छौं। हामी मित्रवत् प्रतिस्पर्धा गर्छौं,’ सिहंले भने, ‘बारा २ मा हामीले पनि उम्मेदवारी दिने भएपछि उहाँ (यादव ) सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बन्न सक्नुहुन्न ।’

यही चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा जसपाका नेताहरूले जसपाका उम्मेदवार रामसहाय यादवलाई सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनाउन अन्तिमसम्म प्रयास गरेका थिए। यसमा नेपाली कांग्रेस र नेकपा (माओवादी)ले जनमत पार्टीलाई मनाउने प्रयास गरेका थिए। तर जनमत पार्टीका अध्यक्ष सिके राउतले उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारी दिलाएरै छाडे। रामसहाय यादव उपराष्ट्रपतिमा विजयी भए तर राउतले रामसहायलाई गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्न दिएनन्। यसपटक पनि त्यही घटना दोहोरिने सिंहले बताए। ‘उपराष्ट्रपतिको निर्वाचनमा हामीले जसरी मित्रवत् प्रतिस्पर्धा गरेका थियौं। त्यसरी उपनिर्वाचनमा पनि मित्रवत् प्रतिस्पर्धा गर्ने छौं,’ सिंहले भने, ‘गठबन्धन एउटा विषय हो तर चुनाव अर्को विषय हो। एउटै गठबन्धनमा बसे पनि मित्र मित्रवत् प्रतिस्पर्धा गर्न सकिन्छ।’

उपराष्ट्रपति निर्वाचनअघि तराई मधेसकेन्द्रित ३ दल जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले कार्यगत एकता गर्ने निर्णय गरेका थिए। यो कार्यगत एकता उपनिर्वाचन पनि कायम रहने जनमत तथा लोसपाका नेताहरू बताउँछन्। यद्यपि अहिले जनमत र लोसपा दुवै पार्टीका नेताहरूले बारा २ मा उम्मेदवारी दिने घोषणा गरेका छन्।



प्रतिक्रिया दिनुहोस्