Logo

हामीले विदेशीको इसारामा चल्ने सरकार चाहेका होइनौं– केपी ओली



काठमाडौं, ११ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नेपाली जनताको इच्छा अनुसार चल्ने सरकार चाहेको बताएका छन् । आज कपिलवस्तुमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुले विदेशीको इसारामा चल्ने सरकार नचाहेको बताएका हुन् ।

‘विदेशीको इसारामा काम गर्ने होइन, देशका लागि र नेपाली जनताको इच्छा अनुसार चल्ने, नेपाली जनताको लागि काम गर्ने र शान्ति, सुव्यवस्था र विकासका लागि काम गर्ने सरकार हामी बनाउन चाहन्छौं । हामीले मुखलेमात्रै त्यो कुरा भनेका छैनौं,’– उनले भने ।

२०५१ सालमा आफू गृहमन्त्री हुनुअघि कांग्रेसले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका एक सय २२ जनालाई गोली हानेर मारेको उनको आरोप छ । कांग्रेसले भड्काएको समाजलाई आफू गृहमन्त्री बनेपछि सही सही तरिकाले सञ्चालन गरेको उनको दाबी छ । सभ्य समाजमा नागरिकलाई गोली हानेर नमारिने उनको तर्क छ । त्यस्तो विकराल अवस्थामा आफूहरु सरकारमा गएपनि एउटा पनि गोली नचलेको उनको दाबी छ ।

‘०५१ सालमा म गृहमन्त्री हुनुभन्दा अगाडि कांग्रेसको सरकार थियो । त्यस सरकारले एक सय २२ जना मान्छे शान्तिपूर्ण ढंगले विरोध प्रदर्शन गर्दा गोली हानेर मारेको थियो । अकारण । कुनै कारण छैन । सभ्य समाजमा त्यसरी नागरिक गोली हानेर मारिदैनन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot