Logo

‘जनगणनाको नतिजा अपूरो’



काठमाडौं, चैत १२ । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनाको नतिजा सार्वजनिक गर्ने क्रममा भाषाभाषी, जातजाति र धर्मावलम्बीसँग सम्बन्धित तथ्यांक सार्वजनिक नगरेपछि सरोकारवालाले जनगणनाको नतिजा अपूरो भएको टिप्पणी गरेका छन् ।

नेपालको संविधान–२०७२ जारी भएपछि पहिलोपटक भएको जनगणना–२०७८ को नतिजामा समुदायको पहिचानसँग जोडिएको जातजाति, भाषाभाषी र धर्मावलम्बीसम्बन्धी तथ्यांक समावेश नगरेपछि सर्वत्र टीकाटिप्पणी शुरु भएको छ । साविकको तथ्यांकको विभाग र हालको राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को नतिजामा जनस्तरमा बढी चासो दिएर हेरिने जातजाति, भाषाभाषी र धर्मावलम्बीको तथ्यांक समावेश गरिएको थिएन ।

यसलाई जनताको सुसूचित हुन पाउने हकको उल्लंघनका रुपमा सामाजिक सञ्जाल फेसबुक, ट्वीटरदेखि विभिन्न माध्यमबाट टीकाटिप्पणी गर्ने क्रम बढिरहेको छ । नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरु भन्छन्– ‘भन्न त संविधानको प्रस्तावनामै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र धार्मिक देश भनेको छ । तर जनगणनाको नतिजा सार्वजनिक गर्दा ती विषयको तथ्यांक सार्वजनिक नगर्नुलाई विडम्बना मान्नुपर्दछ ।’
यी तथ्यांक संवेदनशील रहेको र जातजाति, समूह र पहिचानको विवादबारे केही निवेदनहरुसमेत आएका कारण थप छलफल गर्नुपर्ने भन्दै कार्यालयले अहिले तथ्यांक सार्वजनिक नगरेको बताएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्