Logo

छिमेकी भारतको वृद्धिदरबाट सिकेर हामीले अर्थतन्त्रलाई त्राण दिन सक्छौंः अर्थविद्



काठमाडौं, १२ चैत । अर्थविद् डा. चन्द्रमणि अधिकारीले अर्थतन्त्रलाई सुधार गर्ने अठोट बोकेको अर्थमन्त्रीको आवश्यकता औंल्याएका छन् ।
‘अबको अर्थमन्त्री संविधानको मर्म र भावना बुझेको, आफ्नो दल र गठबन्धनको अर्थदर्शन थाहा भएको, अर्थतन्त्र र अर्थशास्त्रको राजनीतिक र प्राविधिक ज्ञान भएको, विवेकी र इमानदार व्यक्ति चाहिन्छ । आफ्नो नेताको अनुहार र मनसाय हेरेर मात्र काम गर्ने हुनुुभएन । अर्थतन्त्रका कस्ता स्रोत छन्, कसलाई प्राथमिकता दिने, अर्थराजनीति, सामाजिक न्याय र उत्पादन, वैदेशिक लगानी भित्र्याउन सक्ने अठोट र अनुभवी छान्नु उचित हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा. अधिकारीले भने ।
अहिले असामान्य अवस्था भएकाले अर्थमन्त्रीमा सुझबुझ चाहिने पनि उनले बताए । डा. अधिकारीले भने, ‘अहिले चर्चामा रहेका व्यक्तिहरुका सम्बन्धमा मैले बोल्नुपरेन । व्यक्तिभन्दा विधि, नीति र पद्धति महत्तवपूर्ण हुन्छ । विज्ञ भनिएका व्यक्तिले परिणाम नदिएका उदाहरण पनि छन् । तर अहिलेको अवस्था सामान्य छैन । स्रोतको कमी छ । खर्च बढेको छ । स्रोतलाई उत्पादनसँग जोडेर वृद्धि दिने, जनताका हातमा दाम पुर्याउने अनि सांगोपांगो मिलाउन सक्ने व्यक्ति चाहिएको छ । त्यस्ता व्यक्ति नेपालमा हुँदै नभएका पनि होइनन् ।’
नेपालले छिमेकी मुलुक भारतको अर्थतन्त्रबाट पाठक सिक्नुपर्ने पनि अर्थविद् अधिकारीले औंल्याए । उनले भने, ‘विश्वकै अर्थतन्त्रमा भारतको वृद्धिदर राम्रो हुने देखिएको छ । भारतले आफूलाई सम्हालेर ल्याएको छ । उसले आन्तरिक स्रोत परिचालन गरेको छ । भारतले कसरी राम्रो गर्यो भनेर हामीले सिक्नुपर्छ । छोटो अवधिमा आन्तरिक उत्पादन बढाउने र स्वदेशी उत्पादनलाई संरक्षण गर्न सक्यो भने अर्थतन्त्रमा हामीले त्राण थप्न सक्छौं ।’



प्रतिक्रिया दिनुहोस्