Logo

चुनौतीका चाङमा जिम्मेवारी सम्हाल्दै नयाँ आइजिपी



काठमाडौं, चैत १२ । नेपाल प्रहरीको ३०औं महानिरीक्षक (आइजिपी) मा बढुवा भएका वसन्तबहादुर कुँवरले आइतबार कार्यभार सम्हालने भएका छन्। २९औं आइजिपी धीरजप्रताप सिंह ३० वर्षे सेवावधिका कारण शुक्रबार मध्यरातबाट अवकाशमा गएका छन्। सिंह अवकाशमा जानुअघि शुक्रबार दिउँसो मन्त्रिपरिषद् बैठकले कुँवरलाई आइजिपीमा बढुवा गरेको थियो।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी पोषराज पोखरेलले नयाँ आइजिपीले आइतबार पदभार सम्हाल्ने जानकारी दिए। कुँवरले आइतबार गृह मन्त्रालयमा गएर आइजिपीको दज्र्यानी चिह्न ग्रहण गर्नेछन्। त्यसपछि उनले प्रहरी प्रधान कार्यालय पुगेर पदभार सम्हाल्ने प्रवक्ता पोखरेलले बताए।

मुलुकमा शान्ति सुरक्षा कायम गर्ने, अपराध न्यूनीकरण, अनुसन्धान र तहकिकात गर्ने, मानवअधिकार संरक्षण गर्ने, सरकारका आदेश, निर्देशन र कानुन परिपालन गरी जनतालाई प्रत्यक्ष रूपमा राज्यको अनुभूति दिलाउनेलगायतका भूमिका निर्वाह गर्ने दायित्व भएको प्रहरी संगठन र नेतृत्वप्रति सबै पक्षबाट चासो र निगरानी हुन्छ। संगठनको नेतृत्वमा पुग्ने सपना प्रहरी सेवामा प्रवेश गर्ने सबैको भए पनि थोरैले मात्र यस्तो अवसर पाउँछन्। यसका लागि अनेक तिकडमबाजी, जालझेलसमेत भएको इतिहास छ। तर यसपटक कुँवरले भने तुलनात्मक रूपमा सहज र कतिपय जानकारहरूका अनुसार ‘सरप्राइज’ नेतृत्व पाएका छन्।

नेतृत्वमा पुगेका कुँवरका सामु चुनौतीका चाङ छन्। उनी चुनौतीलाई कसरी अवसरमा बदल्दै अघि बढ्छन् भन्ने भविष्यले देखाउनेछ। विवादरहित ढंगले आइजिपीमा बढुवा भएका कुँवरको काँधमा चुनौती चिरेर संगठन चलायमान बनाउने अवसर आएको पूर्वडिआइजी केशव अधिकारी बताउँछन्। ‘विवादरहित तरिकाले उहाँले जिम्मेवारी पाउनुभएको छ। जुन आफैंमा ठुलै अवसर हो,’ अधिकारीले भने, ‘तर चुनौतीलाई व्यवस्थापन गर्न नसके समस्या हुन सक्छ।’

सफलता पाउन दज्र्यानी चिह्न लगाएर गएदेखि नै वरिष्ठ प्रहरी अधिकृतदेखि सकल दर्जासँग सहज तरिकाले समन्वय गर्नुपर्ने अधिकारी बताउँछन्। ‘आसेपासेले बिगार्न सक्ने र गलत ट्र्याकमा लैजान सक्ने भएकाले त्यसमा सुरुदेखि नै उहाँ बच्नुपर्छ,’ उनले भने। अधिकारीले भनेजस्तै आइजिपी कुँवर आफ्नै ब्याचका अधिकृतहरूसँग राम्रो सहकार्य गरेर अघि बढ्नुपर्छ। विवादरहित नियुक्ति भएकाले सुरुदेखि नै सबैलाई मिलाएर उहाँ अघि बढ्नुपर्छ, यो अवसर सदुपयोग गर्न चुक्नु हुन्न।

आइजिपी कुँवरका सामु अर्को चुनौती राजनीतिक हस्तक्षेपबाट प्रहरीको व्यावसायिक मर्यादा जोगाउँदै संगठनलाई पारदर्शी ढंगले चलायमान बनाउने रहेको छ।

नेपाली कांग्रेससँग निकटता रहेको भनिएका उनलाई माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले आइजिपीमा बढुवा गरेको हो, जुन उनका लागि अवसर हुनेछ। यही अवसरबाट पाठ लिएर उनले अनुचित राजनीतिक दबाबबाट मुक्त हुँदै काम गर्न सक्छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्