Logo

सिके राउत बहुरुपी हुन्, कतैबाट परिचालित छन्– जसपा नेता यादव



काठमाडौं, १२ चैत्र । जनता समाजवादी पार्टी (जसपा) का नेता प्रदीप यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई बहुरुपीको संज्ञा दिएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मधेशमा राउतजस्ता बहुरुपीहरु अन्य कतैबाट परिचालित भइरहेको आरोप लगाएका हुन् । २०७४ को स्थानीय निर्वाचन बहिस्कार गरेका राउतले अहिले अरुबाट परिचालित भएर यही व्यवस्थामा चुनाव लडेको यादवको आरोप छ । मधेशका उपलब्धीहरु राउतजस्ता बहुरुपीका माझमा फालिएको उनको दाबी छ ।

‘२०७४ को स्थानीय चु्नावमा उहाँ (सिके राउत) ले चुनाव बहिस्कार गरेर आह्वान गर्नुभयो– बाहिर मत हाल । आजफेरि यही विधि र यही संविधान अन्तर्गत चुनावमा किन आउनुभयो ? यो सबै बहुरुपी रंग हो । मधेशले जबजब केहीचिज पाउँछ, सिके राउत जस्ता बहुरुपीहरुको माझमा फालिन्छ । कहीबाट परिचालन भए । कहीबाट परिचालन भएका छन्,’– उनले भने ।

सिके राउतको मधेश आन्दोलन र मधेश विकासमा कुनै योगदान नरहेको उनको दाबी छ । अहिलेसम्म एक किलोमिटर सडक पिच गर्नमा पनि सिके राउतको कुनै योदगान नरहेको उनको दाबी छ । उनी राष्ट्रवादी नेता नभएको यादवले बताए । राउतले निर्वाचनका बेलामा मधेशका जनतालाई झुक्याएको यादवको दाबी छ । मधेशका १० लाख जनतालाई रोजगारी दिन्छु भनेर राउतले झुटको खेती गरेपनि अहिलेसम्म १० जनालाई पनि रोजगारी दिन नसकेको उनको आरोप छ ।

‘कहाँ राष्ट्रवादीको कुरा गर्नु भएको छ ? कताको राष्ट्रवादी ? एउटा ठाउँमा मात्र चुनाव जित्नु भएको छ सिके राउतले । सप्तरी–२ मा । बाँकी उहाँका उम्मेदवारहरु हारेका छन् । धेरै जनाको जमानत नै जफत भएको छ । जमानत नै फिर्ता भएको छैन । जनता इश्वरको रुप हुन् । कहिलेकाही झुकाइन्छ जनतालाई । उहाँले मधेशमा दश लाखलाई रोजगारी दिन्छु, विकासको खोलो बगाइदिन्छु, भनेर झुटको सपना देखाउनु भयो । दश लाखको त कुरा छोडौं, १० वटा जागिर सिके राउतले दिएर देखाउनु,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्