Logo

एकीकृत समाजवादीको रणनीति : ३ मन्त्रालय, १/१ वर्ष सबै सांसद्‍लाई मन्त्री !



काठमाडौं, १२ चैत्र । सत्ता समिकरण फेरिएसँगै मन्त्रिपरिषद्‍ विस्तारका लागि चहलपहल सुरु हुँदा १० दलीय सत्ता गठबन्धनको एक प्रमुख घटक मानिएको नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागीताबारे आन्तरिक र बाह्य छलफलमा कसिएको छ।

हुन् त एकीकृत समाजवादीको चैत्र ७ गते पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकारमा सहभागीता र मन्त्रिपरिषद्‍मा भागबण्डाका लागि गठबन्धनभित्र बार्गेनिङ्ग गर्न पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसालसहित ३ सदस्यीय कार्यदल नै गठन गरेको छ।

कार्यदलले पनि गठबन्धनभित्र ३ मन्त्रालयको अडान भने अहिलेसम्म छोडेको छैन। तर, गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीलाई बढीमा २ मन्त्रालय दिन सकिने प्रस्ताव राखिसकेका छन्। १० दलीय गठबन्धनभित्र १ दल बाहेक अन्य बाँकी दलहरुको बार्गेनिङ्ग मिले अनुसार सरकारमा जाने रणनीति बनाइरहँदा प्रधानमन्त्री दाहाल सोहि अनुरुप भागबण्डा मिलाउने अन्तिम तयारीमा जुटिरहेका छन्।

समाजावदीले गठबन्धनभित्र तीन ओटा मन्त्रालय मागेतापनि दुई (गृह अनिवार्यसहित एक अन्य कुनै) मन्त्रालय दिए सरकारमा जाने आन्तरिक तयारीमा छ। यस्तै, गृह मन्त्रालय नपाए तीन ओटा मन्त्रालयमा बार्गेनिङ् गर्ने तर नपाए विकल्पमा दुई मन्त्रालय र एक राज्यमन्त्रिसहित जसरी पनि सरकारमा जाने तयारी गरिरहेको छ।

पार्टी अध्यक्ष तथा कार्यदल संयोजक नेपाल पार्टीबाट पहिला मन्त्री भएका बाहेकबाट यो पटक मन्त्री बनाउने तयारीमा रहेका छन्। प्रतिनिधिसभामा १० जना मात्रै सांसद्‍ रहेको समाजवादीमा अध्यक्ष नेपालबाहेक ९ जना नै मन्त्रीका लागि आकांक्षी छन्। किसान श्रेष्ठ, मेटमणि चौधरी, प्रेमबहादुर आले, शेरबहादुर कुँवर यसअघि मन्त्री भइसकेका छन्। राजेन्द्र पाण्डे पनि यसअघि मुख्यमन्त्री भइसकेका छन्। तर, पार्टीमा सानो संख्यामा मात्रै सांसद् भएको र सबैले एक पटक फेरि आफ्नो क्षेत्रमा अगामी निर्वाचनका लागि माहोल बढाउन एक पटक भएपनि मन्त्री हुनुपर्ने अडान लिइरहेका छन्।

सांसद्‍हरुको यो भनाई र भविष्यमा पार्टी झन् खुम्चिने डरले अध्यक्ष नेपालपनि झस्किएका छन्। कारणस्वरुप अध्यक्ष नेपाल आफ्ना सबै सांसद्‍हरुलाई पालैपालो मन्त्री बनाउने सोचमा रहेको उनी निकट स्रोतले जनाएको छ। अध्यक्ष नेपालले हाल मन्त्रिपरिषद्‍मा समाजवादीले पाएको कोटा अनुसार आफ्ना प्रत्येक सांसद्‍ले अगामी प्रतिनिधिसभा निर्वाचनसम्मको बराबरी समायावधी मिलाएर मन्त्री बनाउने रणनीतिमा रहेको बुझिएको छ।

अध्यक्ष नेपाल पहिलो पटकमा भने आफ्नो पार्टीबाट मन्त्रिपरिषद्‍मा महासचिवबाट उपाध्यक्षको जिम्मेवारी पाएका डा बेदुराम भुसालको नेतृत्वमा अन्य मन्त्री पठाउने तयारीमा जुटेका छन्। भुसालसँगै पार्टीको कोटाअनुसार प्रकाश ज्वाला, भानुभक्त जोशी र धनबहादुर बुढाको पहिलो चरणमा मन्त्री हुने सम्भावना बढी रहेको अध्यक्ष नेपाल निकट स्रोतले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्