Logo

उपराष्ट्रपति निर्वाचनमा महिलाहरुको अधिकार खोसियो– सिके राउत



काठमाडौं, १२ चैत्र । जनमत पार्टीका अध्यक्ष एवं संघीय सांसद चन्द्रकान्त राउतले उपराष्ट्रपति निर्वाचनमा संविधानको भावना विपरीत पुरुषलाई उम्मेदवार बनाइएको बताएका छन् ।

आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद राउतले उपराष्ट्रपति निर्वाचनमा संविधानको मर्म विपरीत महिलाको अधिकार खोस्ने काम भएको बताएका हुन् ।

‘संविधानको अभ्यास गर्ने उच्च थलो भनेको संघीय संसद् हो । संविधानको धारा ३८ (४) मा महिलाको लागि व्यवस्था हुँदाहुँदै पनि उपराष्ट्रपतिको निर्वाचनमा जसरी महिलाको अधिकार खोस्ने काम गरियो । त्यो समयमा महिला सांसदहरु पनि आफूले संविधानबाट पाएको अधिकारसमेत लिन नसक्ने अवस्था देखियो । त्यसप्रति मलाई दुःख पनि लागेको छ,’– उनले भने ।

संविधानबाट पाएको अधिकार सांसदहरुले नै प्रयोग गर्न नसकेको उनको दाबी छ । संविधानमा भएको व्यवस्था सांसदहरुले उपभोग गर्न नसकिरहेको अवस्थामा आम जनताले अधिकार लिनसक्छन् भनेर कल्पना पनि गर्न नसकिने उनले बताए ।

‘यो अवस्थामा हामीले संविधानबाट पाएको अधिकार सांसदहरुले लिन सक्दैनन् भने आम जनताले कसरी पाउछन् भन्ने कुरा मलाई दुःख लागेको छ,’– उनले भने । File Photo/Reporters Nepal

 



प्रतिक्रिया दिनुहोस्