Logo

अहिलेको गठबन्धन सरकार कृतिम हो– केपी ओली



काठमाडौं, १२ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनलाई कृतिमताको संज्ञा दिएका छन् । पार्टीको ‘मिसन ग्रासरुट’ कार्यक्रममा सहभागी हुन अर्घाखाँची पुगेका ओलीले अहिलेको गठबन्धनमा अनेकथरी तत्वलाई ढकमा राखेर तल पुर्याइएको बताएका हुन् । साथै, अहिले सबैभन्दा ठूलो दल एमाले नै भएको उनको दाबी छ । उनले अहिलेका विरोधीहरुलाई हराउनका लागि एमालेलाई कुनै गाह्रो नरहेकासमेत बताएका छन् ।

अहिलेका विरोधी तत्वहरुलाई एमालेले धोवीपाट लगाएर पछारेको दाबी गर्दै उनले भने,– ‘हामी जित्ने छौं एकदिन भनेर अब हामीले सुदूर भविष्यको कल्पना गरिरहनु आवश्यक छैन । अहिलेका विरोधीहरुलाई त हामीले कतिपटक धोवीपाट लगाएर पछारेका विरोधी हुन् । यिनीहरुलाई पछार्न कुनै गाह्रो छैन, खाली हामीले तरिका र सक्रियता लगाउन पर्यो । हामी जित्न सक्छौं । जितेर आएका हौं । फेरिपनि जित्छौं ।’

आफूहरुले सरकार बनाउने ओरिजिनल तरिका र हक कस्तालाई हुन्छ भनेर विरोधीहरुलाई देखाउन चाहेको उनको दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउँदा कृतिम नगरौं भन्ने लागेर नै आफू प्रधानमन्त्री नबनेको उनले बताए ।

‘अहिले पनि ठूलो पार्टी हामी छौं । अनेक थरी तत्व लगाएर एउटालाई ढकमा राख्यो, अर्कोलाई ढक तल राख्यो गरी–गरी ढक तल पुर्याएको हो । यो कृतिम हो । हामी ओरिजिनल तरिकाले बहुमत के हो ? सरकार बनाउने हक कस्ताको हुन्छ भन्ने देखाएर छोड्छौं । प्रचण्डसँग मिल्दा पनि हामीले किन प्रधानमन्त्री हुन तयार भएनौं भने कृतिम पाराको काम नगरौं भनेर,’– उनले भने ।

देशको समृद्धि र सुखी नेपालीका लागि एउटा राष्ट्रिय शक्तिको आवश्यकता उनले औंल्याएका छन् । आफूहरु राष्ट्रिय शक्ति निर्माणमा लागेपनि विरोधीहरु त्यसको विरुद्ध लागिरहेको उनको आरोप छ ।

‘अब यी सबै कामका लागि एउटा राष्ट्रिय शक्तिको निर्माण नगरिकन हुँदैन । त्यसकारण हामी राष्ट्रिय शक्ति निर्माणमा लागेका छौं । हाम्रा विरोधीहरु त्यो राष्ट्रिय शक्ति निर्माण हुनै नदिन लागेका छन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्