Logo

पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : यातायातमन्त्री श्रेष्ठ



काठमाडौं, १२ चैत्र । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिएका छन्। काठमाडौँ उपत्यका भित्रका सडकहरू गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उनले विशेष योजना बनाएर सडकहरूको स्तरोन्नती गर्न निर्देशन दिएका हुन्।

सडकसँग सम्बन्धित निकायहरूको उच्चस्तरीय समन्वयात्मक बैठकमा मन्त्री श्रेष्ठले भने, ‘विशेषत लैनचौरदेखि बालाजुसम्म र केशरहमहल हुँदै एपोर्टसम्मको सडक स्तरोन्नतीका लागि तत्काल ठोस योजना बनाउनुपर्‍यो।’ उनले काठमाडौँ उपत्यकाका सडकको अवस्थाबारे जानकारी लिँदै समस्या देखिएका ठाँउमा प्रभावकारी योजना बनाउन निर्देशन दिएका हुन्।

उनले भने, ‘जनताले कर तिरेका छन्। तर सरकारले राम्रो सडकसमेत उपलब्ध गराउन सकेको छैन। सडकका कारण जनताले सधैँ दुःख पाउने स्थितिबाट हामीमाथि उठ्नुपर्छ।’ सम्बन्धित निकायबीचको समन्वय गरेर गरेर गुणस्तरीय सडक बन्नुपर्नेमा उनको जोड थियो।

नयाँ सडकमा अनिवार्यरूपमा नयाँ ढङ्गले जानेगरी सम्झदारी गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले भने, ‘नयाँ बनेका सडकमा अनिर्वायरूपमा एकैपटक एउटा मोडालिटी विकास गरेर काम गर्नपर्छ, सम्बन्धित निकायबीच सम्झादारी गर्नुहोस्।’



प्रतिक्रिया दिनुहोस्