Logo

मिटरब्याज पीडितको उठिबास लाग्दा पनि सरकार टुलुटुलु हेरिरहेको छः भीम रावल



काठमाडौं, १३ चैत । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले मिटरब्याज पीडितको समस्यामा सरकार संवेदनशील नभएको आरोप लगाएका छन् ।
‘लोकतन्त्र र गणतन्त्रमा पनि साहुमहाजनको मिटरब्याज र वित्तीय संस्थाको चक्रवर्ती ब्याजका कारण श्रमजीवी जनताको उठिबास भइरहेको छ । यसमा राज्य संवेदनशील हुन सकेको छैन । आफूलाई आवश्यकता पर्दा रातारात कानुन बदल्ने अनि पीडितलाई न्याय दिन यतिका दिन लाग्ने ? यहाँ त राज्य नै टुलुटुलु हेरेर शोषक र अत्याचारीको पक्षमा उभिएको जस्तो देखियो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै रावलले भने ।
मिटरब्याज पीडितको समस्यामा स्थानीय र प्रदेश सरकार पनि संवेदनशील हुन नसकेको आरोप उनले लगाए । रावलले भने, ‘यस्तो गर्मीको बेला मिटरब्याज पीडित ११ दिन पैदल यात्रा गरेर काठमाडौं आएका छन् । यो संघीयता केका लागि ? त्यहाँ स्थानीय तह र प्रदेश सरकार छन् कि छैनन् ? संघीयता भनेको केवल जातको राज्य बनाउने, देश टुक्राउनका लागि मात्र चर्का चर्का नारा दिनका लागि मात्र हो र ? जसले जति शोषण गरे पनि जति जाली तमसुक बनाए पनि हुने ?’
अर्को प्रसंगमा रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तीर्थयात्रा गरेजस्तो हुन नहुने टिप्पणी गरे । उनले भने, ‘कुनै पनि देशको नेताले खास खास उद्देश्यका लागि विदेश भ्रमण गर्ने हो । शिष्टाचार भ्रमणको पनि कुरा हुन्छ । कूटनीतिक महत्तवको बोवाओजस्तो मञ्चमा नजाने, स्विटजरल्यान्डमा नजाने, भारतको तीर्थयात्रा नगरी अन्यत्र जानै नहुने भन्ने हुन्छ र ? विदेश भ्रमण काशी गएजस्तो हो र ? नेपाल कसैको सेटेलाइट देश हो र ?’



प्रतिक्रिया दिनुहोस्