Logo

मिटरब्याज पीडितको समस्या आजको भोलि नै चट् हुने खालको छैनः गृह अधिकारी



काठमाडौं, १४ चैत । गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले मिटरब्याज पीडितको समस्या निमिट्यान्न हुन समय लाग्ने औंल्याएका छन् ।
‘गत भदौमा उहाँहरु आउनुभयो, सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसमा सम्झौता भएर गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा बनेको कार्यदलले छानबिन गरेर काम गरेको पनि हो । प्रमुख जिल्ला अधिकारीहरुले विद्यमान कानुन अन्तर्गत आफ्नो क्षेत्राधिकार भित्र रहेको उजुरी फस्र्यौट गर्नुभएको छ । धेरै काम प्रक्रियामा छन् । कतिपय अदालती प्रक्रियामा छन् । तर यो आजको भोलि नै समाधान हुने समस्या होइन । यसलाई निमिट्यान्न पार्न समय लाग्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
सहसचिव शर्माले प्रमुख समस्या कानुनी जटिलता भएकाले गृह मन्त्रालयले कानुन परिमार्जन र संशोधनका लागि कानुन मन्त्रालयमा पत्राचार गरिसकेको पनि बताए । उनले भने, ‘कानुनबिना काम गर्न मिल्दैन । कानुन परिमार्जन गर्न पत्राचार गरेका छौं । अड्डा अदालतको काम आजको भोलि नै हुँदैन । अन्तिम परिणाम पाउन निश्चित समय लाग्छ । उहाँहरु अहिले आउनै पर्दैनथ्यो । दुःखमाथि दुःख मात्र भयो । हामीले गर्ने काम नआउँदा पनि हुन्थ्यो ।’
शर्माले आज मिटरब्याज पीडितलाई भेट्ने पनि बताए । उनले भने, ‘हामी उहाँहरुको माग सुनिरहेका छौं । आज उहाँहरुको प्रतिनिधिसँग भेट्छौं । हामी प्रधानमन्त्रीलाई भेटाउने कुरामा पनि सहजीकरण गर्छौं ।’



प्रतिक्रिया दिनुहोस्