Logo

गृहसहित तीनवटा मन्त्रालय एकीकृत समाजवादीको ‘बटमलाइन’ होः पाण्डे



काठमाडौं, १४ चैत । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेले सुशासन र गठबन्धनमा सन्तुलनका लागि आफ्नो पार्टीले गृह मन्त्रालयमा दाबी प्रस्तुत गरेको बताएका छन् ।
‘हामीले मालदार मन्त्रालय खोजेको भन्दा पनि गठबन्धनभित्र सन्तुलन मिलाउने कुरा गरेका हौं हो । मुलुकको सुशासनलाई अवस्था हेरेर पनि हामीले गृहमन्त्रालयको प्रस्ताव गरेका हौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नेता पाण्डेले गठबन्धनलाई पुनर्जीवन दिनमा माधव नेपालको ठूलो योगदान भएकाले गृहसहित तीनवटा मन्त्रालय लिने बटमलाइन लिएको बताए । उनले भने, ‘गठबन्धनलाई पुनर्जीवन दिनमा हाम्रो पार्टीका अध्यक्ष माधव नेपालको मूल्यांकन गर्नुपर्यो नि । नेपाली कांग्रेसले राष्ट्रपति पाएको छ, माओवादीले प्रधानमन्त्री पाएको छ । हाम्रो पार्टीले केही पनि पाएको छैन । त्यसैले तीनवटा मन्त्रालय लिनैपर्छ भन्ने बटमलाइन हो ।’
गठबन्धनमा सामेल ११ दलमध्ये सबैजसोले सरकारमा जाने मनसाय राखेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनले औंल्याए । पाण्डेले थपे, ‘मन्त्रालय बाँडफाँट र अडानले मात्र सरकार विस्तार रोकिएको होइन । हामी निकास निकाल्ने कुरामा कुनै कमी कमजोरी गर्दैनौं । हामी स्थायित्व दिन चाहिरहेका छौं । अरु किचलो निकाल्ने र अडान लिएर बस्ने कुरा नहुन सक्छ । हाम्रा तर्फबाट कुनै अवरोध आउँदैन । अब हामी सबै मुलुकको समृद्धिका निम्ति लाग्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्