Logo

हिमाल आरोहणमा नक्कली धन्दा



काठमाडौं, चैत १५ । हिमाल आरोहणका नाममा किर्ते कागजात बनाएर धमाधम आरोहण गराउने कार्यमा संलग्न सेभेन समिट टेक्स प्रालिले उन्मुक्ति पाउँदै आएको छ । पर्यटन विभागसँग स्वीकृत नलिई हिमाल आरोहण गराउने काम गर्दै आएको सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले भारतीय नागरिकको राहदानीलाई किर्ते गरेर सगरमाथा आरोहण गरेको विषयमा सरकारी निकाय नै मौन छ ।

मिङ्माले सन् २०१३ मा कानुनको उल्लंघन गर्दै भारतीय नागरिक राघव जोनेजाको राहदानी नै सच्चाएर हिमाल आरोहण गराएका थिए । सगरमाथा आरोहण गर्नका लागि १६ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ । सन् २०१३ मा भारतीय नागरिक राघवको उमेर १६ वर्ष पुग्न नौ महिना बाँकी थियो । सेभेन समिटमार्फत् हिमाल आरोहण गर्न आएका राघवको उमेर सच्याउन लगाएर १६ वर्ष भएको राहदानीको फोटोकपी मिङ्माले पर्यटन विभागमा पेस गरे ।

राघवको सक्कली राहदानीमा जन्ममिति २१ अक्टोबर १९९७ रहेको छ । फोटोसप गरेर सच्चाइएको राहदानीको फोटोकपीमा २१ जनवरी १९९७ रहेको छ । पर्यटन विभागले जोनेजासहितको १४ जनाको समूहलाई सगरमाथा आरोहणका लागि ९ अप्रिल २०१३ मा अनुमति दिएको थियो । आरोहण दलमा जोनेजा राघवलाई जसरी पनि समावेश गर्नका लागि सो टिमले दबाब दिएपछि मिङ्माले फोटोकपीमा जन्ममिति सच्चाएर हिमाल आरोहणमा समावेश गरेका हुन् ।

नेपाली कानुनको उल्लंघन गरेर सगरमाथा चढेका राघव अहिले २५ वर्षका भए । उनले आफूले १५ वर्ष सात महिनामा माउन्ट एभरेस्ट चढेको भनी आफ्नो प्रोफाइलमा उल्लेख गरेका छन् । सेभेन समिटको संलग्नतामा भएका यस्ता गल्तीको विषयमा सरकारले उनलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकेको छैन । समिटका मालिक मिङ्मा गल्ती आफ्नो नभएर पर्यटन विभागका कर्मचारीको भएको बताउँछन् । ‘हामीले त राहदानी पेस गर्ने हो, कागजात पेस गरेपछि पर्यटन विभागले अनुमति दिएपछि हिमाल आरोहण गराउनु हाम्रो दोष होइन,’ उनले भने, ‘फाइल सदर गर्ने हामी होइनौं ।’

मिङ्माले आफ्ना कर्मचारीले गल्ती गरेको भन्दै ती कर्मचारीले जागिर छाडिसकेको जानकारी दिए । कर्मचारीले गल्ती गरे पनि दोषी तपाईं पनि हो नि भन्ने प्रश्नमा उनले कम्पनीको दोष भए पनि आफ्नो कुनै संलग्नता नभएको दाबी गरे ।

पर्यटन विभागले जोनेजासहितको १४ जनाको समूहलाई सगरमाथा आरोहणका लागि ९ अप्रिल २०१३ मा अनुमति दिएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot