Logo

गठबन्धन सरकार समेत विस्तार गर्न नसक्ने स्थितिमा पुगेको छः एमाले नेता



काठमाडौं, १५ चैत । नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले पार्टीको मिसन ग्रासरुट जनतामा सकारात्मक प्रभाव छाड्न सफल भएको दाबी गरेका छन् ।
‘नेकपा एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत हामी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कपिलवस्तु, अर्घाखाँची, गुल्मी हुँदै पाल्पामा छौं । आज ओलीले रानीमहल भ्रमण गर्नुहुन्छ । सिद्धबाबा खण्डको सुरुङमार्गलगायत अन्य विकास निर्माणका कामको निरीक्षण भ्रमण गर्नुहुन्छ । आजको कार्यक्रम रुपन्देहीमा हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै गैरेले भने ।
उनले पार्टीको आन्तरिक जीवनमा पनि यसले एकता सञ्चार गरेको बताए । गैरेले थपे, ‘आम मानिसमा नेताहरु चुनावका बेला भोट माग्नमात्र आउँछन्, चुनाव सकिएपछि फर्किंदैनन् भन्ने गुनासा र टिप्पणी थियो । नेताहरु यसरी गाउँगाउँमा पुगेपछि पार्टीको आन्तरिक जीवन सुदृढीकरण र पार्टी सदस्यता विस्तारका साथै आम पार्टीपंक्तिलाई सही दिशानिर्देश भएको छ । समाजवादको लक्ष्य पूरा गर्ने र जनतालाई सचेत बनाउने बहस पनि यसक्रममा भएको छ ।’
गैरेले सरकारले निजामती कर्मचारी, शिक्षा लगायतका जनसरोकारका विधेयक सदनमा प्रस्तुत गर्न नसकेको बताए । वर्तमान गठबन्धन सरकारको विस्तार गर्न समेत नसक्ने स्थितिमा पुगेको आरोप पनि उनले लगाए ।



प्रतिक्रिया दिनुहोस्