Logo

गठबन्धन दलहरुले आफ्नो आकार अनुसारको अपेक्षा गर्नुपर्छः माओवादी नेता



काठमाडौं, १५ चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद राजन दाहालले गठबन्धन दलहरुलाई संसद्मा आफ्नो आकार अनुसारको अपेक्षा गर्नुपर्ने बताएका छन् ।
‘संविधानमा तोकिएभन्दा बढी मन्त्रालय बनाउन मिल्दैन । त्यसैले संसदमा आफ्नो आकार अनुसार अपेक्षा गर्नुपर्छ । आफ्नो वास्तविक धरातलमा उभिनैपर्छ । मेरो पोजिसन के हो, मैले कति माग्नुहुन्छ भन्ने बुझ्नुपर्छ । अहिले कसैले अडान लिने कुरा हुँदैन । त्यो नभई हुँदैन भन्ने स्थिति पनि छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै दाहालले भने ।
मत्रालयमा भागबन्डाभन्दा पनि गठबन्धन दलहरुको कार्यविभाजनमा देखिएका जटिलताका गाँठाहरु फुक्दै गएको दाबी पनि उनले गरे । दाहालले भने, ‘चैत १० सम्म मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने थियो । गाँठाहरु फुक्दै गएका छन् । कुनै समस्या देखिएन भने आज बेलुकासम्म पूर्णता दिने र भोलिसम्म शपथग्रहण हुन्छ । अब निर्णय प्रक्रियामा पुग्न कुनै समस्या छैन । हामी सहमतिनजिक छौं ।’ उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको वरिपरि पुग्नु नै न्यायोचित हुने पनि औंल्याए ।
नेता दाहालले न्यूनतम साझा कार्यक्रममा पनि आजै सहमति हुने औंल्याए । राष्ट्रिय सभामा दर्ता भएको मर्यादाक्रमसम्बन्धी विधेयकमा सरकारको स्वामित्व नभएको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्