Logo

माधव नेपालले उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय चाहिन्छ भन्नु स्वाभाविक होः सांसद जोशी



काठमाडौं, १५ चैत । नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद भानुभक्त जोशीले आफ्नो पार्टीले बढी हिस्सा माग्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्ने कुरा हल्ला मात्र भएको बताएका छन् ।
‘हामीले पनि बाहिर मिडियामा आएका कुरा सुनेका छौं । हाम्रो पार्टीले बढी हिस्सा मागेको भन्ने सुनेका छौं । यो गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपति, दोस्रो ठूलो दल माओवादीले प्रधानमन्त्री, तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख र जनता समाजवादी पार्टीले उपराष्ट्रपति पाइसकेको स्थितिमा एकीकृत समाजवादीलाई पनि एउटा अवसर दिनुपर्छ भन्ने हाम्रो भावना हो । माधव नेपालले उपप्रधानमनत्रीसहित तीनवटा मन्त्रालय चाहिन्छ भन्नु स्वाभाविक हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै जोशीले भने ।
आफ्नो पार्टी सरकार विस्तारमा बाधक नभएको पनि जोशीको दाबी छ । उनले भने,’हामीले फलानो मन्त्रालय नभई हुँदैन भनेर हार्ड एन्ड फास्ट कुरा गरेका छैनौं । हो, हामीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जम्मा १० वटा सिट जितेका छौं । संख्याका हिसाबले धेरै ठूलो आशा गर्ने कुरा होइन । तर हामीले जिम्मेवार नेताहरुसँग थप एउटा मन्त्रालय सहज गराइदिनुस् भन्नु स्वाभाविकै हो । हामी प्रधानमन्त्रीलाई असहयोग गर्ने पक्षमा छैना । अप्ठ्यारो पार्ने बनाउने पक्षमा पनि छैनौं । हामी हलो अड्काउने पक्षमा छैनौं ।’
मन्त्रालयको भागबन्डा समझदारीमा टुंगो लाग्ने र सहमतिको विकल्प नभएको जोशीले औंल्याए । उनले भने, ‘गठबन्धनलाई कसरी राम्रो बनाएर जाने भन्नेमा हामी चिन्तित छौं । किनभने सरकारको कामकारबाहीमा ढिलासुस्ती छ । संसद्ले पनि गति लिन सकेको छैन । अब संसद् र सरकारलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्