Logo

प्रधानमन्त्री दाहालले मागे मन्त्रालय भागबण्डाको अधिकार, भागबण्डा गरेर भोलि नेताहरूलाई सुनाउने



काठमाडौं, १५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डाको अधिकार मागेका छन्।

मन्त्रिपरिषद्‍को भागबण्डामा सहमति जुटाउन बुधबार सबेको सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रालय संख्याको सहमति जुटेपनि कुन दलले कुन मन्त्रालय पाउनेबारे छलफल भएको छैन।

बुधबारको सहमती अनुसार नेपाली कांग्रेसलाई ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी र जसपालाई समान २/२, जनमतलाई १ मन्त्री र १ राज्यमन्त्री, लोसपा, नाउपा, आजपा र नेसपालाई १/१ मन्त्रालय दिने सहमति भएको छ।

मन्त्रालय संख्याको सहमति भएको तर मन्त्रालयको बाँडफाटबारे टुङ्गो लगाउन गठबन्धन बैठकमा प्रधानमन्त्री दाहालले आफूलाई अधिकार मागेको एकीकृत समाजवादीका उपमहासचिव डा विजय पौडेलले बताएका छन्। उनका अनुसार प्रधानमन्त्री दाहालले गठबन्धनका दलहरुलाई आफूले स्वविवेक प्रयोग गर्दै मन्त्रालय छुट्याउने अधिकार मागेका हुन्।

बैठकमा सहभागी एक नेताले भने, ‘कसले कति मन्त्री पाउने भन्ने सहमति भयो तर कुन मन्त्रालय पाउने भन्ने सहमति अझै भएको छैन। प्रधानमन्त्रीले त्यो अधिकार मलाई दिनुस् भन्नुभयो। भोलि बिहान उहाँले भागबन्डा गरेर गठबन्धनका नेताहरूलाई सुनाउनुहुनेछ।’

तर, प्रधानमन्त्री दाहालको एकल निर्णयले दलहरु सन्तृष्ट नहुन सक्ने गठबन्धनका नेताहरुले जनाएका छन्। त्यसका लागि बिहीबार पुन: एक पटक गठबन्धनको बैठक बसि छलफल गर्नुपर्ने गठबन्धनका साना दलहरुको माग रहेको छ।

गठबन्धनका शिर्षदलहरुले पाउने मुख्यमुख्य मन्त्रालयहरुको सम्भावित टुङ्गो लागेपनि अन्य सानादलहरुले चलायमान मन्त्रालयको लबिङ् गरिरहँदा मन्त्रालयको बाँडफाटबारे बुधबार केही टुङ्गो लाग्न सकेको छैन।



प्रतिक्रिया दिनुहोस्

Screenshot