Logo

राष्ट्रपति कार्यालयमा शपथग्रहणका लागि नजाँदासम्म भागबन्डा परिवर्तन हुन सक्छः माओवादी महासचिव



काठमाडौं, १७ चैत । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रपति कार्यालयमा शपथग्रहणका लागि नजाँदासम्म मन्त्रालयको भागबन्डा परिवर्तन हुने बताएका छन् ।
‘गठबन्धनमा हिजो मन्त्रालयगत विन्यास मोटामोटी टुंगिएको सुनेको छु । गठबन्धनका सबै दलहरुलाई समेट्ने प्रयास प्रधानमन्त्रीबाट भएको छ । संविधानको व्यवस्था अनुसार अधिकतम सहमति र सहकार्यमा चल्नुपर्ने अवस्था छ । राष्ट्रपति कार्यालयमा शपथग्रहणका लागि नजाँदासम्म केही हेरफेर हुन सक्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै गुरुङले भने ।
५१ प्रतिशतको खेल खेलेर घरीघरी सरकार बदल्ने चिन्तनबाट देश निर्माण हुन नसक्ने पनि उनले औंल्याए । गुरुङले भने, ‘भ्रष्टाचार र कमिसनतन्त्रले मुलुक थिलथिलो भएको छ । ५१ प्रतिशतको खेल खेलेर घरीघरी सरकार बदल्ने, मुलुकलाई निरन्तर रुपमा अस्थिरता र अराजकतातिर लैजाने, एकले अर्कालाई निषेध गर्ने, पछार्ने, सहमतिलाई खिसिट्युरी गर्ने चिन्तन र सोच प्रकारान्तरले राष्ट्रिय अस्मितामा खेलबाड गर्छ ।’
माओवादी महासचिव गुरुङले २५ औं वार्षिकोत्सवका अवसरमा रिपोर्टर्स क्लबलाई शुभकामना पनि दिए । उनले भने, ‘रिपोर्टर्स क्लबले सञ्चार जगत्मा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । क्लबले आगामी दिनमा पनि जनता, संविधान, राष्ट्रिय स्वाधीनता, जनजीविका र लोकतन्त्रको पक्षमा बहस गर्दै जाओस् ।’ रिपोर्टर्स क्लबले रजत महोत्सवका अवसरमा आज दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गरेको छ ।



प्रतिक्रिया दिनुहोस्