Logo

एसइई दिन परीक्षा हलमा विद्यार्थी (फोटोफिचर)



काठमाडौं, चैत १७ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ। बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा ११ बजेसम्म हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसवर्षको एसइई परीक्षाका सहभागिता जनाउनका लागि कूल चार लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए ।

परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी छन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी छन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी छन् ।

यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसइईमा सहभागी हुँदैछन् । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

त्यस्तै वागमती प्रदेशमा सबैभन्दा बढी ४३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १७९ परीक्षा केन्द्र कायम गरिएको छ । कोशी प्रदेशमा ३७८, मधेस प्रदेशमा २७९, गण्डकी प्रदेशमा २२३, लुम्बिनी प्रदेशमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

एसइईमा अघिल्लो वर्ष देशभरबाट पाँच लाख १८ हजार १८५ विद्यार्थीले आवेदन दिएपनि परीक्षामा भने चार लाख ९५ हजार ६४८ जना परीक्षामा सहभागी भएका थिए ।

एसइई परीक्षाका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुने भएका छन् । प्रत्येक परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति परिचालन भएका छन् ।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्