Logo

प्रचण्डजीमा उत्ताउलोपन देखियोः ज्ञवाली



काठमाडौं, १७ चैत । नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकाल गठबन्धन दलहरुलाई कसरी चित्त बुझाउने भन्नेमै बित्ने देखिएको बताएका छन् ।

‘यो सरकारबाट मैले कुनै आशा गरेको छैन । एकदुई दलले विश्वासको मत फिर्ता लिने बित्तिकै प्रचण्डको कुर्सी संकटमा पर्छ । उहाँले अब कुर्सी जोगाउने बाहेक कुनै काम गर्न सक्नुहुन्न । प्रचण्डको कार्यकाल गठबन्धन दलहरुलाई कसरी चित्त बुझाउने भन्नेमै बित्नेछ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै ज्ञवालीले भने ।

सत्य निरुपण तथा मेलमिलाप विधेयकको अन्तर्वस्तुमै समस्या रहेको पनि उनले औंल्याए । ज्ञवालीले थपे, ‘प्रचण्डविरुद्ध अदालतमा मुद्दा परेपछि पीडितको परामर्श विना संशोधन विधेयक संसदमा दर्ता भएको छ । यसको समय छनोट र तौरतरिका मिलेको छैन । म त अन्तर्वस्तुमै समस्या देख्छु । यसले द्वन्द्वका घाउ र पीडा मेटाउँदै समाजलाई मेलमिलापतिर लैजान सक्दैन । द्वन्द्वपीडित र अन्तर्राष्ट्रिय समुदाय र पीडित असन्तुष्ट छन् । सरकार ढाकछोपमा मात्र लागेका छन् ।’ अब पनि दायाँबायाँ गर्न थाले मुलुक दुर्घटनातिर जाने दाबी पनि उनले गरे ।

नेता ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाउन नसक्ने ठोकुवा गरे । उनले भने, ‘प्रचण्डले चीनको बोवाओ फोरमजस्तो अत्यन्त महत्त्वपूर्ण मञ्च पहिले भारतको भ्रमण मिलाउने भनेर स्किप गर्नुभयो । केही समयअघि भारतको महत्त्वपूर्ण फोरममा पनि निम्ता पाउनुपाएन । दुवै मञ्चमा उपस्थिति नभएपछि नेपाललाई सन्देहको नजरले हेर्न लागेको देखिन्छ । प्रचण्डजीले किन उत्ताउलोपन देखाइरहनुभएको हो, म बुझ्दिनँ । बोलाउनु कहाँ छ कहाँ, मेरो पहिलो भ्रमण भारत नै हुन्छ भनेर कि हल्का हुन खोज्नुभएको हो ?’ प्रचण्डका कारण नेपाल शक्तिराष्ट्रहरुको पोल्टामा जाने खतरा देखिएको पनि उनले औंल्याए ।

फरक प्रसंगमा नेता ज्ञवालीले रिपोर्टर्स क्लबले विगत २५ वर्षमा तीनवटा क्षेत्रमा विशेष योगदान गरेको बताए । उनले भने, ‘पहिलो- क्लबले समसामयिक मुद्दामा विभिन्न पक्षलाई जुटाएर जनसरोकारका विषयमा प्रश्नोत्तरमार्फत सुसूचित हुने अवसर दिएको छ । दोस्रो- क्लबले राजनीतिक मुद्दामात्र नभएर विभिन्न दुःख, पीडा र अप्ठ्यारोमा परेका, राज्यले नसुनेका र नदेखेका नागरिकलाई मञ्च दिएर राष्ट्रिय एजेन्डा बनाएको छ । तेस्रो- लोकतन्त्रप्राप्तिको आन्दोलनमा सडक बहसमार्फत सशक्त नागरिक संस्थाको भूमिका निर्वाह गरेको छ ।’



प्रतिक्रिया दिनुहोस्