Logo

कांग्रेसको वरिष्ठ नेता मै हुँः गोपालमान श्रेष्ठ



काठमाडौं, २० चैत । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको डा. शेखर कोइराला समूहलाई दुईवटा मन्त्रालय र एउटा राज्यमन्त्री दिन सकिने बताएका छन् ।
‘हामीले अस्ति चार जना मन्त्री पठायौं । बाँकी दुईचार दिनभित्रै पठाउँछौं । लोकतान्त्रिक पार्टीमा अलिअलि किचलो स्वाभाविकै हो । तर यसले सरकारको काम कारबाहीमा कुनै समस्या पर्दैन । सभापतिजीले यथाशीघ्र पठाउने व्यवस्था मिलाउनु हुन्छ । डा. शेखर कोइराला समूहलाई पहिले नै दुइटा मन्त्रालय निश्चित भएको हो । अब दुईवटा मन्त्रालय र एउटा राज्यमन्त्री वा त्यस्तो केही हुन्छ । के मिल्छ, के मिल्दैन उहाँहरु नै जान्नुहुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै श्रेष्ठले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा काम गर्ने हुटहुटी रहेको उनले बताए । श्रेष्ठले भने, ‘सरकारमा अलिकति खटपट आयो । सरकारले राम्ररी काम गर्न सकेन । मन्त्रिमण्डलले करिब करिब पूर्णता दिएको छ । अब हाम्रो काम उहाँलाई सफल बनाउने हो ।’ साथै उनले नयाँ अर्थमन्त्री डा. प्रकाशशरण महतले कोभिडका कारण तहसनहस भएको अर्थतन्त्र सुधार गर्न कम्मर कसेर लाग्नुपर्ने बताए । उनले थपे, ‘उहाँले अनपपुलर काम गर्नुपर्ला, गाली पनि खानु होला । तर पछि अर्थतन्त्र बचाउनुभयो भनेर स्याबासी पनि पाउनुहुन्छ ।’
तीनवटै जिल्लाका उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारले जित्ने दाबी पनि उनले गरे । श्रेष्ठले भने, ‘अब जनताले बुझिसकेका छन् । रवि लामिछानेले नागरिकता लिएको ९० दिन नपुगेकाले उम्मेदवारी नै कायम हुन सक्छ कि सक्दैन भन्ने छ । निर्वाचन आयोगले स्वीकार गर्ला जस्तो लाग्दैन । उहाँमाथि अरु अभियोग पनि छन् । यसपटक चितवनले धर्तीपुत्र जितनारायणलाई जिताउँछन् भन्ने मलाई विश्वास छ । रविजीलाई कतिपटक चुनाव जिताउने अनि कति पटक मतदान गर्ने ?’
कांग्रेसको वरिष्ठ नेता हुने पालो कसको हो भन्ने पत्रकार धमलाको प्रश्नमा श्रेष्ठले भने, ‘मेरै मुखबाट किन भन्न लगाउनुहुन्छ ? मैले मेरो पालो भन्नै पर्दैन । रामचन्द्रजी हुँदाहुँदै सभापतिले मलाई बनाउने वचन दिनुभएको हो । पार्टीको फुल मिटिङमा जिपछिरिङ (लामा) जी र शशांक (कोइराला) डाक्टर साहेबले भन्नुभएको हो । महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गर्छु भन्नुभयो । सबैको मौन सम्मति भएको छ । सभापतिलाई कुनै दुबिधा छैन । शेरबहादुर, रामचन्द्र र म एउटै समयका नेताहरु हौं । ६ दशकको लामो जीवनमा १० वर्ष जेल बसेको छु । ६१ सालमै कार्यवाहक सभापति भएको हुँ । १२ बुँदेको हस्ताक्षरकर्ता मै हुँ । म क्रेनले उचालेर लानुपर्ने मान्छे होइन ।’ रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै कांग्रेसमा वरिष्ठ नेता पद खाली छ ।



प्रतिक्रिया दिनुहोस्