Logo

अग्निपरीक्षामा महामन्त्री थापा र शर्मा



  • भूपेन्द्रसिंह धामी

काठमाडौं, २१ चैत्र । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पुस्तान्तरणको माग राखि पार्टीको महामन्त्रीमा निर्वाचित भएका गगनकुमार थापा र विश्वप्रकाश शर्मा कांग्रेसभित्रका आशलाग्दा नयाँ पुस्ताका अनुहार हुन्।

भाषणबाट युवा पुस्तालाई आकर्षित गर्नसक्ने क्षमता भएका महामन्त्रीद्धय थापा र शर्मा १४औं महाधिवशेनमा सभापति शेरबहादुर देउवाइतर पक्षबाट महामन्त्रीमा निर्वाचित भएका थिए। उनीहरुले कांग्रेसमा युवाहरुको सम्भावना जोगाइ राखेका छन्।

सधैं पार्टीभित्रको अन्तरसंघर्ष र मिठो भाषणले चर्चामा रहेका महामन्त्रीद्धय मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भए। निर्वाचित भएपछि सधैंसँगै देखिने गरेका थापा र शर्माको मित्रताको चर्चापनि हुने गरेको छ। झन् शर्माले त निर्वाचन परीणाम घोषणा भएकै दिन गगनलाई संसदीय दलको नेता र देशको प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरे।

सोहीबमोजिम शर्माले कांग्रेस संसदीय दलको नेताको निर्वाचनको बेलामा पार्टी सभापति देउवाको विरुद्ध प्रतिस्पर्धामा उत्रिएका थापाको पक्षमा खुलेरै लागे। दलको नेताको निर्वाचनमा थापाको प्रस्तावक नै शर्मा रहेका थिए। त्यसपश्चात् महामन्त्रीद्धयले मन्त्रिपरिषद्‍मा अहिले आफूहरु सहभागी नभइ पार्टी निर्माणमा लाग्ने बताएका छन्।

पार्टीभित्र नयाँ पुस्ताको अनुहार आफूहरु भएको र काम गर्ने जिम्मेवारी नपाउँदा जिम्मेवारीविहिन हुन पुगेको बताउँदै आइरहेका थिए। उनीहरु पार्टीभित्र मुख्यत: युवाहरुले जिम्मेवारी पाउनुपर्ने र अहिलेका अग्रज पुस्ताहरुले राजनीतिबाट विश्राम लिनुपर्ने बताउँदै आइरहेका छन्।

सोही गुनासोको बावजुत सभापति देउवाले यसपटक महामन्त्रीद्धय थापा र शर्मालाई उपनिर्वाचनमार्फत अग्निपरीक्षामा होमाएका छन्। उनीहरुलाई देउवाले अहिले देशभरिकै ध्यान केन्द्रित भएको र प्रमुख राजनीतिक दलहरुको शक्ति लागी रहेको क्षेत्रमा पार्टीको कमाण्डर नै बनाएर पठाएका छन्।

देउवाले बैशाख १० गते हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनमा महामन्त्रीद्धय थापा र शर्मालाई खटाएका हुन्। उपनिर्वाचन हुन लागेको चितवन-२, तनहुँ-१ र बारा-२ मध्ये कांग्रेसले आफ्नो उम्मेद्‍वार उठाएका चितवन-२ र तनहुँ-१ मा थापा र शर्मालाई सो क्षेत्रको चुनावी कमाण्डर बनाउँदै पठाएको हो। चितवन-२ मा शर्मा र तनहुँ-१  मा थापा खटिएका छन्।

कमाण्डर भएपछि महामन्त्रीद्धय आइतबार नै आफ्नो आफ्नो क्षेत्रमा पुगेका थिए। उनीहरुले आफ्ना पार्टीका उम्मेद्‍वारहरुलाई जिताउन स्वच्छ छवि मानिएका उम्मेद्‍वारहरुविरुद्ध पनि खुलेरै भाषण गरिरहेका छन्।

कांग्रेसले चितवनमा जितनारायण श्रेष्ठ र तनहुँमा नेविसंघका पूर्वसभापतिसमेत रहेका डा गोबिन्दराज भट्टराईलाई उठाउने निर्णय गरेको छ।

भट्टराईको पक्षमा तनुहँमा रहेका महामन्त्री थापालाई आन्तरिक रुपमा सकस रहेपनि आफूलाई सफल पार्ने एक ठूलो अवसर हुने राजनीतिक विश्लेषकहरुले अनुमान छ।

थापालाई आफ्नै पार्टीका पूर्व सहकर्मी तथा नजिकका मित्र मानिएका डा स्वर्णिम वाग्लेविरुद्ध भोट मागिरहनु पर्दा सकस भइरहेको छ। वाग्ले केही दिन अगाडि मात्रै कांग्रेस छोड्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भई सोही क्षेत्रमा उम्मद्‍वार रहेका छन्।

एकातिर आफ्ना नजिकका मित्रलाई निर्वाचनमार्फत हराउनैपर्ने पीडा छ भने अर्कोतर्फ पार्टीले दिएको जिम्मेवारीलाई सफलता दिलाउँदै आफूलाई सफल नेताको रुपमा देखाउने अवसर थापामा रहेको छ।

देउवा समूहको दोष देखाउँदै पार्टी परित्याग गरेका वाग्ले र पार्टीभित्र देउवाइतर पक्षका र संस्थापन पक्षको विरोध गरि रहने महामन्त्री थापालाई सभापति देउवाले नै अग्नीपरिक्षामा सो क्षेत्रमा कमाण्डर बनाउँदै होमाएका हुन्। धेरैले पार्टी सभापति देउवाको यो चलाखि कदम रहेको टिप्पणी गरेका छन्।

तनहुँ-१ मा मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले जित हात पारेको थियो। सो क्षेत्रबाट वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल विजयी भएका थिए। त्यहाँ कांग्रेस, रास्वपापछि नेकपा (एमाले)का तर्फबाट पूर्व एआइजीसमेत रहेका सर्वेन्द्र खनाल मुख्य प्रतिष्पर्धामा रहेका छन्।

यस्तै, अर्का महामन्त्री शर्मा खटिएको चितवन-२ लाई पार्टीहरुले प्रतिष्ठाको विषय बनाएका छन्। गत प्रतिनिधिसभाको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाका सभापति रहेका रबि लामिछाने देशभरीमै सबैभन्दा बढी मतान्तरले विजयी बनेका थिए।

सो निर्वाचन परिणामपछि केही समय गृहमन्त्रीसमेत बनेका लामिछानेको सांसद्‍ पद नै सर्वोच्च अदालतले खारेज गरिदिँदा बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो।

यसपटकको उपनिर्वाचनमा पनि उनै लामिछाने उम्मेद्‍वार रहेका सो क्षेत्रमा अन्य दललाई असहज भएको छ। लामिछानेलाई हराउने जिम्मेवारीसहित देउवाले शर्मालाई चितवन पठाएपनि सो क्षेत्रमा लामिछानेको अझै क्रेज कायमै रहेको चर्चा छ।

कांग्रेसले उपनिर्वाचनमा सो क्षेत्रबाट आफ्नो उम्मेद्‍वारका रुपमा श्रेष्ठलाई उठाउँदै लामिछानेभन्दा कम उमेरको युवा र स्थानीय वासिन्दा भएको जस पाएको छ।

कांग्रेसलाई सत्ता गठबन्धनका अन्य दलहरुको पनि साथ रहेको हुँदा शर्मा आफूलाई सभापति देउवाले दिएको जिम्मेवारीबाट सफल हुने दाबी गरिरहेका छन्।

सम्बन्धित समाचार



प्रतिक्रिया दिनुहोस्