Logo

सफल बन्दै सडक मानवमुक्त अभियान



गलकोट, २२ चैत । बागलुङ, पर्वत र म्याग्दीमा सडक मानवमुक्त अभियान प्रभावकारी बन्दै गएको छ । छ वर्ष पहिला सडक मानवमुक्त अभियानका निम्ति खोलिएको मानव सेवा आश्रम बागलुङ शाखाको सक्रियताका कारण सडक मानवमुक्त अभियान सफल हुँदै गएको छ ।

अहिले कालिका मन्दिर परिसरमा मागेर खाने देख्न पाइँदैनन । उनीहरूको उपचारका साथै आश्रय दिएपछि कालिका मन्दिर परिसरमा उनीहरु कमै आउन थालेका हुन् । बागलुङका विभिन्न चोक तथा गल्लीमा पनि मागेर खानेको सङ्ख्या क्रमशः घट्दै गएको छ । आश्रमले धवलागिरिको म्याग्दी, पर्वत र बागलुङलाई सडक मानवमुक्त अभियान बनाउने लक्ष्यका साथ सडक तथा बेसहाराको उद्धार, उपचार, हेरचाह तथा पुनःमिलन गराउँदै आएको छ । बेसहाराको उपचार र व्यवस्थापन गर्दा अभियान सफल बन्दै गएको आश्रमका संयोजक विपाना तामाङले बताए ।

चालु आर्थिक वर्षमा धवलागिरिका तीन जिल्लाबाट २७ जनाको उद्धार गरिएको छ । हाल आश्रममा ४९ बेसहारा तथा सडक आश्रित व्यक्ति रहेको तामाङले बताए । चालु आवमा छ जनाको पुनःमिलन, तीन जनाको मृत्यु तथा स्वेच्छिकरुपमा १२ जनाले आश्रम छाडेका छन् ।

“सुरक्षा निकाय र जनप्रतिनिधिको सहयोगमा उद्धार गर्ने गरेका छौँ, तामाङले भने, “छ वर्षमा झन्डै चार सयको उद्धार भइसकेको छ ।” आश्रममा झण्डै ८० प्रतिशत आश्रित मानसिकरूपमा असन्तुलन भएका र २० प्रतिशत शारीरिक अपाङ्गता भएका व्यक्ति रहेका आश्रमका अभिभावक शिव खड्काले बताउनुभयो । दाताको भरमा चल्दै आएको आश्रममा आश्रितको सङ्ख्या बढ्दै गएपछि आवास व्यवस्थापनको समस्या भएको छ । आश्रमले बागलुङ नगरपालिका–४ निरयघाटमा रु १२ करोडको लागतमा सात रोपनी जग्गामा भवन बनाउँदै छ । भवन बनेपछि एक सय ५० देखि दुई सय जनालाई आश्रय दिन सकिने मानव सेवा आश्रमले जनाएको छ । हालसम्म आश्रम पुण्यतिथि, जन्मदिन, चौरासी पूजा र व्रतबन्धजस्ता सामाजिक तथा धार्मिक कार्यको अवसरमा प्रदान गरिने खाद्यान्न र नगदबाट सञ्चालित छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot