Logo

सिक्टाको पूर्वी नहरमार्फत पानी सञ्चालन



खजुरा, २४ चैत । गत वर्ष पर्याप्त पानी नपर्दा बाँके जिल्लाको नरैनापुर क्षेत्रका करिब ८५ प्रतिशत जमिन बाँझो रह्यो । सिँचाइ अभावमा यहाँका किसानले धान रोपाइँ गर्नै पाएनन् । त्यसको प्रत्यक्ष असर उत्पादनमा देखियो ।

अहिले सुक्खाग्रस्त क्षेत्र नरैनापुरमा सिँचाइको सुविधा पुग्ने गरी सिक्टा सिँचाइ आयोजनाले पूर्वी नहरबाट पानी सञ्चालन गरेको छ । विसं २०७४ साउन ९ गतेदेखि पूर्वी नहर निर्माणको काम सुरु भएको थियो । यसका चारवटा शाखा नहर छन् भने परम्परागत राजकुलोसँगै फत्तेपुर सिँचाइ प्रणाली पुनःस्थापना हुनेछ । अहिले पूर्णक्षमतामा फत्तेपुरसम्म सिँचाइका लागि पानी सञ्चालन भएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार पूर्वी नहरको लम्बाइ ४३ दशमलव पाँच किलोमिटर रहेकामा अहिले ३९ किलोमिटरसम्म पानी सञ्चालन गरिएको छ । नरैनापुरको गङ्गापुर, मटैहिया र वडा नं १, २, ३ र ४ मा अर्को चरणमा काम सुरुआत हुने आयोजनाका आयोजना निर्देशक रमेशकुमार सिंहले बताए । उनका अनुसार सिक्टाको पूर्वी नहरबाट नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्नेछ ।

“नयाँ निर्माण गरिएका चारवटा शाखा नहरबाट करिब एक हजार चार सय हेक्टरमा वर्षभरि नै सिँचाइ सुविधा पुग्ने सुनिश्चित छ”, निर्देशक सिंहले भने, “बाँकी मूल नहरसहित शाखा नहरको सर्भेक्षण र डिजाइनको चरणमा रहेकाले आवश्यक वातावरणीय अध्ययनपश्चात ठेक्का अगाडि बढाइन्छ ।”

गत असार २८ गते सात घनमिटर प्रतिसेकेन्ड पानी परीक्षणका लागि छाडिएको थियो । परीक्षण सफल भएपछि पूरै क्षमताको पानी छाडिएको आयोजनाले जनाएको छ । पूर्वी नहरको संरचनामा ३७ किलोमिटर नहर निर्माण भएको छ । केही राजकुलो पर्ने भएकाले ३९ किलोमिटरसम्म पानी छाडिएको छ ।

सिँचाइ कुलोमा पानी छाडेपछि खेतमा सिँचाइ हुनेछ भने गत वर्षजस्तो यस वर्ष खेत बाँझो राख्नुपर्ने अवस्था नहुनेमा विश्वास लिइएको छ । पूर्वी नहरबाट पानी सञ्चालन भएपछि सुक्खा क्षेत्रलाई केही राहत पुग्ने स्थानीयवासीको अपेक्षा छ । । सिँचाइ कुलो पुगेपछि यस क्षेत्रका बासिन्दा खुसी भएका छन् । सिँचाइ नहुँदा खेत बाँझै राख्नुपर्ने बाध्यता अब हटेको यहाँका किसानको भनाइ छ ।

सो क्षेत्रका किसानले आकाशे पानीको भर परेर खेती गर्नुपर्ने अवस्था थियो । पूर्वी नहरमा पानी छाडिएपछि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय किसान शिवशरण थाले बताए । पूर्वी नहर निर्माणका लागि कालिकाकुमार जेभीसँग रु तीन अर्ब छ करोड ९८ लाख ५९ हजार दुई सय ५९ मा ठेक्का सम्झौता भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot