Logo

बारा २ मा यादव र कुशवाहा मुख्य प्रतिस्पर्धी



काठमाडौं, चैत २५ । आसन्न उपनिर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिएका छन्। जसपाको बलियो सांगठनिक जगमा यादव चुनावी परिणाम हात पार्ने दाउमा छन्। यादवलाई रोक्न जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत सम्पूर्ण सूत्र उपयोग गर्ने पक्षमा छन्। यसकारण यहाँको चुनावी माहोल निकै तातेको छ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस) को समर्थन पाएका यादव बलिया देखिएका छन्। यादवलाई संसद् प्रवेशमा रोक्ने सिकेको दाउ सप्तरीमा सफल भए पनि यहाँ सफल नहुने यस क्षेत्रका मतदाता बताउँछन्। ‘यादवलाई संसद् प्रवेश रोकेर सिके मधेसको मसिहा बन्न खोज्दैछन्,’ स्थानीय हिरालालप्रसाद साह भन्छन्, ‘मधेसी जनताको अधिकारका लागि यादवजीको योगदानको वजन अतुलनीय छ।’ यस जिल्लाका एक जनालाई देशकै उपराष्ट्रपति र अर्कोलाई मधेस प्रदेशको मुख्यमन्त्री बनाएर उहाँले उदारता प्रदर्शन गर्नुभएको छ।’ उपनिर्वाचनमा यस क्षेत्रका जनताले यादवले लगाएको गुण फर्काउने विश्वास उनी व्यक्त गर्छन्।

गत मंसिरमा सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका यादव सिकेसँग पराजित भएका थिए। बारा २ मा हुने उपनिर्वाचनका लागि यादव मैदानमा छन्। यो क्षेत्रबाट यसअघि जसपाकै रामसहायप्रसाद यादव निर्वाचित भएका थिए। तर रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको यो क्षेत्रमा उपनिर्वाचनमार्फत यादव संसद् प्रवेशका लागि प्रतिस्पर्धामा छन्।

यादव प्रतिस्पर्धामा उत्रिएपछि बाराको उपनिर्वाचन केवल चुनावी प्रतिस्पर्धामा मात्रै सीमित नरहेर समग्र मधेस राजनीतिको शक्ति संघर्षको सवाल बनेको छ। यहाँ सांसद बन्नेभन्दा पनि ‘मधेसको मसिहा’ बन्ने प्रतिस्पर्धा सुरु भएको छ। यादवलाई संसद् प्रवेश रोकेर मधेसको मसिहा आफू बन्न सिकेले सम्पूर्ण शक्ति लगाइरहेका छन्। तर यादवलाई रोक्न सिकेका लागि सप्तरी २ मा जस्तो सजिलो बारा २ मा नभएको विश्लेषण पनि भइरहेको छ।

मंसिरमा भएको निर्वाचनको मत परिणामअनुसार यस क्षेत्रमा जनमत पार्टी निकै कमजोर देखिन्छ। उक्त निर्वाचनमा जसपाका रामसहायप्रसाद यादव १३ हजार ८२२ मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए। त्यतिबेला जसपाका बागी उम्मेदवार रामकिशोरप्रसाद यादव पनि ११ हजार ४३ मत ल्याई तेस्रो भएका थिए। अर्का स्वतन्त्र उम्मेदवार रवीन्द्रप्रसाद यादवले १० हजार ७५० मत पाएका थिए। जनमतका राजेश साहले २ हजार ७२५ मत ल्याएका थिए।

अहिले यादव कांग्रेस, माओवादी केन्द्र, लोसपा र नेकपा एससहित पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन्। जनमतले भने यसअघि कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट उम्मेदवार रहेका शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाएको छ। यस क्षेत्रमा जसपाको बलियो संगठन रहेको स्थानीय बताउँछन्। सांगठनिक हिसाबले माओवादी केन्द्र पनि यो क्षेत्रमा मजबुत छ।

पाँच महिनाअघि माओवादी केन्द्रको मजबुत सांगठनिक जगमा चुनाव लडेका शिवचन्द्र जसपाको उम्मेदवारसँग पराजित भएका थिए। यसपटक माओवादी केन्द्रले नै जसपालाई समर्थन गरेपछि कमजोर संगठन रहेको जनमत प्रवेश गरेर कुशवाहा उपेन्द्रसँग प्रतिस्पर्धा गर्दैछन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot