काठमाडौं, चैत २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदुरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका छन् ।
असारमा दोस्रो दीक्षान्त गरेको विश्वविद्यालयले एक वर्षमै दोस्रो पटक आज तेस्रो दीक्षान्त समारोहको आयोजना गरेको छ ।
२०६८ मा स्थापना भएको विश्वविद्यालयले ०७१ देखि शैक्षिक कार्यक्रमहरू अघि बढाएको थियो। पहिलो पटक ०७४ मा दीक्षान्त समारोह आयोजना गरेको विश्वविद्यालयले कोरोना संक्रमण लगायत कारणले ५ वर्षपछि असारमा दोस्रो पटक विद्यार्थीलाई दीक्षित गरेको थियो ।
स्नातक र स्नातकोत्तर तहमा ८५५ विद्यार्थीले तह पास गरे पनि १७९ ले मात्रै दीक्षित हुनका लागि आवेदन दिएका छन् । असारमा पनि १५ सय २३ जनामध्ये २५३ ले मात्रै दीक्षितका लागि आवेदन दिएका थिए ।
विश्वविद्यालयले पठनपाठन सुरु भएको ४ वर्षपछि ०७४ मा पहिलो पटक आयोजना गरेको दीक्षान्त समारोहमा पनि निकै कम विद्यार्थी सहभागी थिए। त्यतिबेला १०४ जना मात्रै दीक्षित भएका थिए ।
आजको दिक्षान्त समारोहमा प्रमुख अतिथि भारत उत्तर प्रदेशको महात्मा ज्योतिबाफुले रुहेलखण्ड विश्वविद्यालयका उपकुलपति केपी सिंह रहनेछन ।





प्रतिक्रिया