Logo

कोभिडसँग नआत्तिऔं, सतर्क हौंः डा. पुन



काठमाडौं, २९ चैत । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरस संक्रमण बढ्नुमा नागरिकहरुकै असावधानी प्रमुख कारण रहेको औंल्याएका छन् ।
‘कोरोना शून्यमा झरेको अवस्थामा हामी सबै जना आआफ्नो दैनिकीमा फर्केका हौं । तर हाम्रै असावधानीले कोरोना उक्लने र ओर्लने गरिरहेको छ । भारतमा संक्रमण बढ्दा नेपालमा जुन स्तरमा सजगता अपनाउनु पर्थ्र्यो, खोप कार्यक्रम बढाउनुपर्थ्र्यो, त्यसो हुन सकेको देखिएन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा. पुनले भने ।
हिजो १०६ जना संक्रमित थपिए पनि समुदायमा यो भन्दा धेरै बिरामी रहेको पनि उनले बताए । डा. पुनले थपे, ‘अहिले पनि सभा, सम्मेलन, जुलुस, जमघट र आवतजावत उस्तै छ । तर तुलनात्मक रुपमा भन्ने हो पहिलो, दोस्रो र तेस्रो लहरभन्दा फरक स्थिति छ । धेरैजसोले खोप लगाएको, भाइरसबारे चेतना बढेको र औजारहरु पनि भएकाले हामी आत्तिने होइन, हेपाटाइटिस, टाइफाइड, डेंगी, हैजा फैलिँदा जस्तै गरी सतर्क हुनुपर्छ ।’
अहिले देखिएको कोरोना संक्रमण मौसमी खोकीजस्तो अवस्थामा रहेको पनि उनले बताए । डा. पुनले भने, ‘यसलाई सिजनल टाइपको भन्दा पनि फरक पर्दैन । कोभिड संक्रमितमा टाउको दुख्ने, असाध्यै जीउ दुख्ने, खोकी लाग्ने, कमजोर बनाउने खालका कडा लक्षण छैनन् । तर दीर्घरोगी र ज्येष्ठ नागरिकलाई घरमै राख्नुभन्दा अस्पताल पुर्याउनुपर्छ । अब पहिलो, दोस्रो र तेस्रो लहरजस्तो मानवीय क्षति नहोला ।’



प्रतिक्रिया दिनुहोस्