Logo

कमरेड केपी ओली पार्टी एकताबारे छलफल गर्न तयार हुनुहुन्छ भने म त्यसको स्वागत गर्छुः झलनाथ खनाल



काठमाडौं, २९ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले झलनाथ खनालले आफू नेकपा एमाले प्रवेश गर्न लागेको कुरा अनावश्यक हल्ला भएको बताएका छन् ।
‘यो अनावश्यक हल्ला हो । म अहिले एमाले नेतृत्वविरुद्ध विद्रोह गरेको पार्टीमै छु । एमालेको नेतृत्वसँग हाम्रा गम्भीर मतभेद छन् । मैले एमालेलाई दक्षिणपन्थी अवसरवाद र गुटवादबाट मुक्त गर्नुपर्छ भन्दै आएको छु । त्यो नेतृत्व सच्चिँदै नसच्चिईकन म एमालेमै फर्किने कल्पना गर्न सक्दिनँ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै खनालले भने । उनले हल्लाको पछाडि नलाग्न कार्यकर्तापंक्तिलाई आग्रह पनि गरे ।
पार्टीभित्र एकताको बहस हुनु स्वाभाविक भएको पनि उनले बताए । खनालले भने, ‘म एमालेमा फर्कने वा नफर्कने प्रश्न नै होइन । तर तुरुन्त एउटाबाट अर्कोमा फाल हाल्नु स्वार्थी, पलायनवादी र दक्षिणपन्थी प्रवृत्ति हो । एउटा पार्टीमा जम्मैका जम्मै विचार मिल्नुपर्छ भन्ने पनि छैन । बहस र छलफल हुँदै वादे वादे जायते तत्त्वबोध गर्ने हो । सही विचार, सही सिद्धान्त, सही नीति, सही कार्यदिशा पत्ता लगाउन बहस त मज्जाले गर्नुपर्छ नि ।’
कुनै पनि नेताप्रति आफूले आग्रह पूर्वाग्रह नराखेको पनि खनालले बताए । उनले थपे, ‘यो देशमा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने क्रममा नेकपालाई संसदमा दुई तिहाइ मिलेको थियो । त्यसले मुलुकमा चकाचौध गर्न सक्थ्यो । तर नेतृत्व त्यस किसिमले अघि बढ्न सकेन । अब कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुको विकल्प छैन । तर म अंकमाल गरेर, टाउको जोडेर वा पदको लेनदेन गरेर एकता गर्ने पक्षमा छैन । तर कमरेड केपी ओली छलफल गर्न चाहनुहुन्छ भने म त्यसलाई स्वागत गर्न तयार छु ।’ एमालेभित्र पनि ठूलो संख्यामा नेता कार्यकर्ता कम्युनिस्ट एकताको पक्षमा रहेको पनि उनले दाबी गरे ।
कुर्सी र पद केन्द्रित लोभी नेताहरुका कारण जनता निराश भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिहिनेतसाथ काम गर्नुपर्ने पनि उनले बताए । साथै खनालले स्मार्ट टेलिकमले २७ अर्ब कर नतिरीकन नवीकरण गर्नु देश र जनतामाथिको विश्वासघात हुने पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस्