Logo

गोविन्दलाई जिताउन प्रदीप पौडेल तनहुँमा



काठमाडौं,२९ चैत । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल गृहजिल्ला तनहुँ पुगेका छन् । बैशाख १० मा तनहुँ- १ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहेका गोविन्द भट्टराईलाई चुनावमा भोट माग्न उनी तनहुँ पुगेका हुन् ।

मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ-२ बाट टिकटको आकाक्षां गरेपनि पार्टी सभापति शेरबहादुर देउवाले टिकट नदिएपछि उनी काठमाडौं -५ बाट उठेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारी मतले पराजित गर्दै निर्वाचित भएका थिए ।

तनहुँ -१ बाट निर्वाचित कांग्रेस सांसद् रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि उक्त क्षेत्र खाली छ । १० बैशाखमा हुने उपनिर्वाचनमा कांग्रेसबाट भट्टराइ, एमालेबाट पूर्व आईजीपी सर्बेन्द्र खनाल र कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका छन् ।

नेपाली कांग्रेसले उपनिर्वाचनमा स्वर्णिम हराउने जिम्मासहित पार्टी महामन्त्री गगन थापा र तनहुँ-२ का सांसद शंकर भण्डारीलाई कमाण्डर बनाएको छ ।

यो निर्वाचन कांग्रेसका महामन्त्रीद्धय थापा र विश्वप्रकाश शर्माको लागि पनि परीक्षा हुने भएको छ । तनहुँमा गोविन्दराज जोशी समूह पनि अस्तित्वमा छ । मंसिरमा सम्पन्न भएको निर्वाचनमा जोशीका छोरा दीपकराज जोशीले ७ हजार मत ल्याएका थिए ।

यो बीचमा पार्टी सभापति शेरबहादुर देउवाले जोशी समूहलाई फकाउनको लागि वार्तासमेत गरेका थिए । तर, जोशी र देउवाबीचको वार्ता सकारात्मक हुन सकेन । जोशी समूहले भने निर्वाचनको मुखमा कांग्रेसका उम्मेदवार भट्टराईलाई सहयोग गर्न नसकिने सन्देश प्रवाह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot