Logo

वर्ष २०७९ः हजारौं बालबालिकाकी आमा उपसभामुख



काठमाडौं, १ चैत्र । गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्षबाट परिचित भएकी इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनेकी हुन् । झापामा जन्मिएकी ५२ वर्षिय राना राजनीतिमा आउनु अघि नै हजारौं बालबालिकाको आमाको रुपमा परिचित अनुहार हो । उनी नेतृत्वको संस्थाले जेल सजाय भोगिरहेका महिलाहरुका कलिला बालबालिकालाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिका लागि काम गरिरहेको थियो । अहिले पनि उक्त संस्थाले उत्तिकै सकृयताको साथ बालबालिकाको हक र हितका पक्षमा काम गरिरहेको छ । उनको योदानको कदर गर्दै बीबीसीले सन् २०१७ मा रानालाई प्रेरणादायी तथा सिर्जनशील एक सय महिलाको सूचीमा समावेश गरेको थियो ।

बालबालिकाको पक्षमा करिब तीन दशकदेखि सक्रिय रुपमा काम गरिरहेकी रानाले उक्त अवधिमा हजारौं कलिला बालबालिकाको हक, हित र शिक्षादीक्षाको लागि काम गरिन् । उनी प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएपछि पनि निरन्तर रुपमा बालबालिकाको हक र हितमा आवाज उठाउँदै आएकी छन् । सरकारका नीति तथा कार्यक्रममा बालबालिका र जेष्ठ नागरिकको समस्या सम्बोधन हुने गरी व्यवस्था गर्न उनले आग्रह गरिसकेकी छन् । बालबालिका देशको भविष्य र सभ्यता भएको उनको भनाई छ । अहिले एउटा बच्चामाथि गरिएको लगानी सय वर्षको लागनी हुने उनी बताउँछिन् ।

‘मैले अलिकति बच्चाको समस्या हेरेर मात्रै नहुने रहेछ । सदनमै गएर बालबालिकाको लागि आवाज उठाएँ भने भोलि नेपालका विभिन्न कुनाकन्दरामा रहेका भोकाएको बच्चाहरुको संरक्षणका लागि कानुन बन्ने छ भन्ने हिसाबले म राजनीतिमा आएँ,’– उनी भन्छिन् ।
सांसद र उपसभामुख हुन्छु भन्ने आफूसँग कहिले पनि अपेक्षा नै नभएको उनको भनाई छ । हजारौं बालबालिकाकी आमाकी रुपमा चिनिएकी उपसभामुख रानाको बाल्यकाल भने सुखमय थिएन् । बर्खामा ओत लाग्ने राम्रो घर र दुई छाकको जोहो गर्न नसक्ने परिवारमा हुर्किएको उनी अनुभव सुनाउँछिन् । बर्खामा पानीबाट जोगाउन आमाले बोरामा छोपेकोदेखि कसैले दिएको मकै भटमास आमाले पोल्टामा हालेर ल्याइदिएको र कति रात भोकभोकै विताएको अनुभव उनीसँग छ ।

‘मेरो घर मेरो बच्चाको घर जहाँ छ, मेरो पनि त्यही हो । मेरो ठाउँमा त मेरो बुबाआमालाई बनाएको घर पनि भत्किएको छ । मैले ट्युसन पढाएर आएको पैसाले अलिकति राम्रो घर बनाइदिएको थिए । मैले त्यहाँ मेरा बुबाआमाको आत्माको अनुभव गर्छु । मेरो घरमा खरबाट पानी चुहिन्थ्यो । लुगा राम्रो थिएन, जाडो हुन्छ भनेर मेरो आमाले मलाई बोरामा राख्नु हुन्थ्यो । झुपडिबाट पानी चुहिँदा आमाले मलाई कुखुराको पोथीले चल्ला छोपेझैं बोराले छोपेको बाल्यकाल याद छ । मेरो आमाले पटुकामा भटमास, मकै पोको पारेर ल्याइदिएको अहिले पनि याद छ । कतिदिन हामी भोकभोकै सुतेको पनि याद छ’– उनी भन्छिन् ।

आफूले भोगेको बाल्यकालको पीड अहिलेको पुस्ताका बालबालिकाले भोग्नु नपरोस् र उनीहरुको मौलिक हक र मानव अधिकारलाई राज्यले सुनिश्चित गरोस् भन्ने चाहनासहित उनी निरन्तर संघर्षरत रहिन् । उक्त लडाईमा उनी अहिले पनि निरन्तर लागि रहेकी छिन् ।
आफू उपसभामुख बनेपछि पनि हालसालै अर्थ मन्त्रालयका सहसचिवलाई भेटेर आगामी नीति तथा कार्यक्रममा बालबालिकाका लागि राम्रो बजेट छुट्याउन उनले आग्रह गरेकी छन् । बालबालिका र जेष्ठ नागरिकका क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा भएका अभ्यासहरुलाईसमेत हामीले अनुशरण गर्न आवश्यक रहेको उनको भनाई छ ।

‘मैले अर्थको सहसचिव ज्यूलाई भेटेर भनेको छु– बालबालिकाको लागि राम्रो बजेट छुट्याउनु पर्छ । म त्यसैका लागि राजनीतिमा आएको छु । जेष्ठ नागरिकहरुका लागि राम्रो बजेट हुनुपर्छ । त्यसमा पनि को बढि पीडितहरुलाई हेर्नुपर्छ । अन्तराष्ट्रिय स्तरमा बालबालिका र जेष्ठ नागरिकको क्षेत्रमा भएको राम्रो अभ्यासलाई हामीले सिक्न पर्यो,’– उनले भनिन् ।

बालबालिकाको राम्रो संरक्षणका लागि सरकार प्रतिवद्ध हुन आवश्यक रहेको उनको भनाई छ । हामीले बालबालिकामा गरेको लगानी देशको विकास र समृद्धिका लागि हो भन्ने कुरा भुल्न नहुने र उनीहरुको बालअधिकार र मानव अधिकारको रक्षामा राज्यले विशेष ध्यान दिन आवश्यक रहेको उनी बताउँछिन् ।

‘नभएकाहरुलाई बढि बजेट छुट्याउन पर्यो । बालबालिका जो असाहय छन्, सडकमा छन्, जेलमा छन्, उनीहरुको राम्रो संरक्षण हुनपर्यो । त्यही बालबालिकाहरु हाम्रो देशको भविष्य र सभ्यता हो । अहिले हामीले एउटा बच्चालाई लगानी गर्नु भनेको सय वर्ष लगानी गर्नु हो,’– उनी भन्छिन् ।

राना गत माघ ७ गते शनिबार उपसभामुखमा निर्वाचित भएकी हुन् । उनको पक्षमा १६६ र विपक्षमा ९७ मत रहेको थियो । नेपाली कांग्रेकी उम्मेदवार मुक्तकुमारी यादवलाई हराउँदै उनी उपसभामुखमा निर्वाचित भएकी थिइन् । वर्ष २०७९ मा धेरै राजनीतिक अस्थिरता र सत्ता समीकरण परिवर्तनका लागि चलखेल भइरहे पनि समाज बुझेकी र हजारौं बालबालिको आमाको पहिचान बनाएकी इन्दिरा रानालाई प्रतिनिधि सभाले उपसभामुखका रुपमा पाउनु गौरवको कुरा हो ।

 

 



प्रतिक्रिया दिनुहोस्