Logo

रत्नपार्कमा जुलुस निकालेर कूटनीति चल्दैनः कर्ण



काठमाडौं, ४ वैशाख । कूटनीतिज्ञ विजयकान्त कर्णले नारायणप्रकाश (एनपी) साउद अप्ठ्यारो र सजिलो बेला परराष्ट्रमन्त्री बनेको टिप्पणी गरेका छन् ।
‘नयाँ परराष्ट्रमन्त्री बनिरहँदा भारत र चीन दुवै छिमेकी रणनीतिक प्रतिस्पर्धा छन् । चीन र अमेरिकाबीच व्यापारमा संघर्ष छ । सुपर पावरमा नयाँ शक्तिको उदयले धु्रवीकरण भएको छ । युक्रेन युद्धपछि हाम्रा सामू विश्वसम्बन्धमा नयाँ चुनौती थपिएका छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै कर्णले भने ।
नेपाली राजनीतिक नेतृत्वले भारतसँग विश्वास वातावरण निर्माण गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए । उनले भने, ‘जलविद्युत, व्यापार र लगानीका साथै भैरहवा र पोखरा एयरपोर्टको बाटो खुला गर्न सक्नुपर्छ । कलकत्ता, हल्दिया, विशाखापटनम बन्दरगाहमा नयाँ सुविधा प्राप्त गर्न सक्नुपर्छ । बाढी, सिँचाइका कुरा छन् । त्यसका लागि नेपाली राजनीतिक नेतृत्वले भारतसँग विश्वास वातावरण निर्माण गर्नुपर्छ ।’
कालापानी र सुस्ताको सीमा समस्या सचिव र मन्त्रीस्तरीय संयन्त्र प्रयोग गरेर समाधान गर्नुपर्ने कर्णको सुझाव छ । उनले भने, ‘प्रधानमन्त्री चाँडै भारत भ्रमणमा जाँदै हुनुहुन्छ । दुवै देशले ९८ प्रतिशत सीमा समस्या समाधान भयो भने पनि कालापानी र सुस्तामा केही समस्या छन् । यसलाई दुइटै मुलुकले सचिवस्तरीय र मन्त्रीस्तरीय संयन्त्र प्रयोग गरेर समाधान गर्नुपर्छ ।’
उनले सीमा समस्या समाधान गर्न समय लाग्ने पनि औंल्याए । कर्णले थपे, ‘सन् १९७१ मा बंगलादेश बन्यो, भारतसँगको सीमा विवाद २०१६ आएर दुवै देशको विन-विन हुने गरी समाधान भयो । रत्नपार्कमा कूटनीति गरेर हुँदैन । जुलुस निकालेर कूटनीति हुँदैन । नेपाल र भारतले डेडिकेटेड म्याकनिजम बनाएर काम गर्नुपर्छ । हाम्रो विदेशनीति न चीनमुखी बनाउने हो, न भारतमुखी र अमेरिकामुखी बनाउने । हामीले त नेपालमुखी कूटनीति बनाउने हो नि । सत्तामा एउटा र विपक्षमा हुँदा अर्को भाषा बोलेर कूटनीति हुँदैन नि ।’
चीनसँग पनि सीमा विवाद रहेको औंल्याउँदै कर्णले भने, ‘हुम्लामा चीनले सीमा अतिक्रमण गरेको सरकारी डकुमेन्टले नै बोल्छ । यसलाई पनि समाधान गर्दै जानुपर्छ ।’ अर्को प्रसंगमा उनले बारा २ मा उपेन्द्र यादव ‘कम्फर्टेबल पोजिसन’मा रहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot