Logo

देउवाबारे स्वर्णिमको टिप्पणी : उहाँ ८४ वर्षको उमेरमा पनि छैटौंपटक प्रधानमन्त्री बन्ने अवसर ढुकेर बसिरहनुभएको छ (भिडिओसहित)



काठमाडौं, ५ बैशाख । तनहुँ–१ को उपनिर्वाचनमा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेले देश यतिवेला एकदमै अप्ठ्यारो अवस्थामा रहेको टिप्पणी गरेका छन् । उनले आफू नेपालको राजनीति संग्ल्याउन र अर्थतन्त्र उकास्नको लागि चुनावी मैदानमा उत्रिएको स्पष्ट पारेका छन् । तनहुँमा प्राइम टिभीको उपनिर्वाचन बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै वाग्लेले यस्तो बताउका हुन् । उनले भने,‘सुशासन र आर्थिक गतिविधिको हिसाबले नेपाल धेरै चुकिरहेको छ । नेपालको राजनीति भ्रष्टाचारले गाँजेको छ र जनउत्तरदायी बन्न नसकेको लोकतन्त्र छ । मैले राजनीतिक संग्ल्याउने भनेको छु । आर्थिक र कुटनीतिकका कुरा, सामाजिक विकासका कुरा अनि पर्यावरणका कुरा गरेको छु । यहाँभित्र अन्तरनिहित सम्भावनालाई उजागर गने भनेको छु ।’

उनले आफू पछिल्लो समय कांग्रेसमा रहनसक्ने अवस्था नरहनुको कारण शीर्ष नेतृत्व नै आफूप्रति असहिष्णु रहेको स्पष्ट पारे । उनले आफू निश्चित् समयसिमा तोकेर राजनीतिमा होमिएको उल्लेख गरे । र, उनले अहिले आफ्नो यो उर्वर उमेर भएकोले राजनीतिमा होमिएको सुनाए । नेपालमा राजनीतिलाई पूर्णकालिन पेशा बनाउने काम भएको भन्दै वाग्लेले त्यसको विरोध गरे । उनले देशको विद्यमान राजनीतिक मोडेल नै आफूहरुले चेन्ज गर्न चाहेको सुनाए । उनले आफूले दुई वा तीन कार्यकालभन्दा बढि राजनीति नै गर्न नहुने संस्कार बोकेको बताए ।

उनले अबको राजनीति भनेको अवस्था परिवर्तन गर्नु भएकोले आफूहरु राजनीतिमा होमिएको जिकिर गरे । देशको विद्यमान राजनीतिक फोहोर एक्लैले सफा गर्न नसकिने भन्दै यसको लागि सामूहिक योगदान हुनुपर्नेमा जोड दिए । वाग्लेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति कडा टिप्पणी गरे । उनले भने,‘दुर्भाग्यवश, एक जना ठूलो पार्टीका सभापति, ८४ वर्षको उमेरमा छैटौंपटक म प्रधानमन्त्री हुन्छु भनेर अवसर ढुकेर बसिरहनुभएको छ । त्यो अवसरको लागि उहाँले के के कुराको तिलाञ्जली दिनुभयो, उहाँकै पार्टीका (अहिले बाहिर बोल्न सक्दैनन् विचाराहरु), तर भित्र चाहीँ ती कुराहरु गरमागरम चलिरहेको छ । उहाँको कब्जामा त्यो पार्टी यति दरोसँग रहेको छ कि, धेरै साथीहरुले त्यसको खुलेआम त्यो च्यालेन्जपनि गर्न सक्नुभएको छैन् ।’

उनले देउवाको यो उमेरमा प्रधानमन्त्री बन्ने महत्वकांक्षाले देश नै बन्धक बनेको टिप्पणी गरे । उनले भने,‘पार्टीलाई त यसले एकदमै क्षति गरेको छ । तर, यहाँ त देश नै बन्धक बन्यो ।’ उनले आफूहरु अस्थिरताको कारक हुन नचाहेको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई त्यही भएर समर्थन दिरहेको स्पष्ट पारे । अहिलेको संसद्मा कुनै एक दलको बहुमत नभएकोले आफूहरुले स्थिरताको लागि यस्तो कदम चालेको उनको भनाई छ । उनले रास्वपाका सांसदहरुले संसद्मा सकारात्मक भूमिका निर्वाह गरेको बताए । उनले ०१५ सालको विपी आजपनि आफ्नो प्रेरणाको स्रोत भएको स्मरण गराए । उनले भने,‘०१५ सालको विपीले नेतृत्व गरेको नेपाली कांग्रेस, आजपनि मेरो राजनीतिक मार्गको, विचारको अनि गतिशिलताको प्रेरणाको स्रोत हो । ४५÷४६ वर्षको विपी कोइरालालाई एकचोटी मानसपटलमा राख्नुहोस, त्यो फूर्ति, त्यो उर्जा, त्यो पेटमा आगो, र निश्चित् समयसिमाभित्र म देशलाई यहाँ पुर्याउँछु । १५ वर्षको एउटा कल्पना गर्नुभएको थियो नि, मध्यमवर्गीय । त्यो स्पिरिट क्या, अब हामीले बोक्ने हो क्या । अनि त्यो उर्जा र हुटहुटी चाहीँ अलिकति मैले रवि लामिछानेजीमा पनि देखेको भएर, त्यो भनेको । अब यहाँ त मलाई, के बोल्लास र खसालिहालौं, ठोकिहालौं भन्ने छ नि त । त्यही भएर त्यो बंग्याएर गर्या हुन् । तर, राम्रा पत्रकारिता गर्ने साथीहरुले मैले हुबहु बोलेका कुरा उतारेर, ए भनेको त यस्तो रहेछ भनेर त्यो प्रष्ट भैसकेको छ । अब त्यसलाई कोट्याईरहनुपर्दैन् ।’

उनले अहिलेको बहुलवादी प्रतिष्प्रर्धात्मक लोकतान्त्रिक व्यवस्था आफूहरुले मानेको बताए । उनले नेपालको संविधान २०७२ लाई आफूहरुले पूर्ण रुपमा मान्ने पनि बताए । मन नपरेका कुरा संविधानको परिधिभित्रै रहेर सुधार गर्ने पनि उनले विश्वास दिलाए । वाग्लेले आफू र पार्टी सभापति लामिछानेबीच हार्दिक सम्बन्ध रहेको सुनाए । उनले आफूहरुले लक्ष्य ठूलो राखेको बताए । उनले आफू अहिले चुनाव जितेर सांसद हुनेमात्रै लक्ष्य लिएर चुनावी मैदानमा उत्रिएको बताए । सरकारमा जाने वा नजाने भन्नेबारे अहिले कुनै निर्णय नलिएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot