Logo

बारा-२ मा रमेश खरेललाई जमानत जोगाउनै मुस्किल



काठमाडौं,१२ वैशाख । गत आइतवार उपनिर्वाचन भएका देशका तीन निर्वाचन क्षेत्रमध्ये तनहुँ-१ र चितवन-२ मा भारी मतसहित निर्वाचन जितेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वारहरु जितको उत्सव मनाइरहँदा बारा-२ मा भने पार्टीका उम्मेद्वार रमेश खरेललाई आफ्नो जमानत जोगाउनै मुस्किल परेको छ ।

बारा-२ मा कुल ६८ हजार ८ सय ८७ मत खसेकोमा झण्डै ३२ हजार मतगणना भइसकेको छ ।

मतगणना सकिएको र खरेलले पाएको मतलाई हेर्ने हो भने उनलाई आफ्नो जमानत जोगाउन हम्मेहम्मे पर्ने देखिन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ७१ मा जमानत जफतसम्बन्धी व्यवस्था छ । “पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उमेदवारको धरौटी जफत हुनेछ,” ऐनको दफा ७१ मा लेखिएको छ, “तर, निर्वाचित उमेदवारको हकमा यो कुरा लागु हुने छैन ।”

अहिलेसम्म प्राप्त मतपरीणाम अनुसार रास्वपाका उम्मेदवार खरेलले  २ हजार १ सय २९ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन-२०७४ अनुसार बारा-२ मा जमानत जोगाउन उम्मेदवारले झण्डै ७ हजार मत कटाउनुपर्ने देखिन्छ । अहिलेसम्म खरेलले कुल सदर मतको ३ प्रतिशतपनि मत ल्याउन नसकेको कारण अन्तिम परीणासम्म पनि उनले आफ्नो मत बढाउन नसकेमा आफ्नो जमानत जफत गराउने निश्चित रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot