Logo

बजेट अभावले पर्वतका ७६ खानेपानी योजना अधुरै



पर्वत, १५ वैशाख । लागत अनुमानअनुसार बजेट विनियोजन नहुँदा पर्वतका छ दर्जनभन्दा बढी खानेपानी योजना अधुरै छन् । एक घर एक धारा पु¥याउने लक्ष्यसहित विसं २०७५ मा बढीमा दुई वर्षभित्र सक्नेगरी सुरु गरिएका करोडौँ लागतका ती आयोजना दशकौँ बितिसक्दा पनि बजेट अभावमा अलपत्र बनेका हुन् ।

जिल्लाका सातवटै पालिकामा रहेका ती योजनालाई पूर्णता दिन तीनै तहका सरकारले पर्याप्त बजेट विनियोजन नगरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । उक्त कार्यालयका इञ्जिनियर शिवशङ्कर शाहका अनुसार हाल जिल्लाभर रु तीन करोडदेखि रु २० करोड लागत अनुमानका ७६ खानेपानी आयोजना छन् । ती सबै आयोजना सम्पन्न गर्न चालु वर्षको दररेटअनुसार करिब रु तीन अर्ब बजेट आवश्यक पर्दछ ।

मन्त्रालयबाट आउने बजेट बर्सेनि पाँच प्रतिशतभन्दा बढ्न सकेको छैन । सबै आयोजना आर्थिक वर्ष २०७५÷७६ मा सम्पन्न हुनुपर्ने हो । ती आयोजनाको लागत अनुमानअनुसार काम हुन बर्सेनि कम्तीमा रु ५० करोड बजेट आवश्यकपर्नेमा चालु वर्ष झण्डै रु १३ करोड मात्रै आएको उनले बताए । “यो वर्ष आवश्यक बजेटको पाँच प्रतिशत पनि बजेट छैन”, इञ्जिनियर शाहले भने, “हामीले सबै काम द्रुतगतिमा गर्छौं भनेर भएन । सबै आयोजना पाइपलाइनमै छन् । बजेटै नभएपछि काम अघि बढाउन नसक्दा थुप्रै आयोजना सम्पन्न नहुँदै भग्नावशेषमा परिणत भएका छन् । बजेट अभावका कारण फिल्डमा खटिने कर्मचारीलाई दैनिक भत्ता दिनसमेत सकिएको छैन ।”

सञ्चालित अधिकांश आयोजना उपभोक्ताको सहलगानीमा सञ्चालित छन् । प्रत्येक आयोजनामा उपभोक्ताले २० प्रतिशत श्रमदान र मर्मतसम्भार कोषमा एक प्रतिशत नगद जम्मा गर्नुपर्छ । सञ्चालित अधिकांश आयोजनाका उपभोक्ता समितिले आफ्नो जिम्मेवारीको काम सके पनि बजेट अभावकै कारण कार्यालयले काम अघि बढाउन नसकेको हो । घरघरै पानी पाउने आशामा श्रमदान र मर्मतसम्भार कोष जम्मा गरेका वाहाकी शालिग्राम खानेपानी आयोजनाका उपभोक्ता पानीको आसैआसमा पुस्ता बित्न लागेको भन्दै निराश बनेका छन् ।

दुई वर्षमा सक्नेगरी आर्थिक वर्ष २०७५/७६ मा सुरु भएको बृहत् शङ्करपोखरी खानेपानी आयोजनाको लागत अनुमान रु १८ करोडको थियो । उक्त आयोजनाका लागि बर्सेनि रु १८ देखि २० लाखका दरले मात्रै बजेट प्राप्त भए पनि अहिलेसम्म सम्पन्न हुन नसकेको स्थानीयवासी कमल भुसालले बताए ।

तीन वर्षमा सक्नेगरी २०७५ मा सुदूर दक्षिणमा सुरु गरिएको वहाकी शालिग्राम खानेपानी आयोजनाको काम नसक्दै जीर्ण बनेको छ । वाहाकी र शालिग्रामका दुई सय ५० घरधुरीलाई एक वर्षमा घरघरै धारा पु¥याउने लक्ष्यसहित सुरु गरिएको आयोजना अपुरो बनेको हो । यो आयोजनालाई चालु वर्ष रु १० लाखमात्रै बजेट रहेको कार्यालयले जनाएको छ । विसं २०६४ मा सुरु भएको मोदी गाउँपालिका–६ को चित्रे–तिलाहार खानेपानी आयोजना पनि निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको उपभोक्ताको गुनासो थियो ।

उक्त आयोजनाका लागि चालु वर्षमा रु १८ लाख मात्रै बजेट विनियोजन भएको छ । विसं २०७१ मा रु आठ करोड लागत अनुमान गरी सुरु गरिएको लुङ्खु खानेपानी आयोजना बजेट अभावकै कारण अलपत्र बनेको स्थानीय जीवन उच्चै ठकुरीले बताए ।

दक्षिण पर्वतको पैँयु गाउँपालिकाको केन्द्र हुवासमा सुरु गरिएको हुवास छहरा खानेपानी आयोजनाको हालत पनि उस्तै छ । झण्डै आठ हजार स्थानीयवासीलाई घरघरै धारा पु¥याउने लक्ष्यसहित सुरु गरिएको उक्त आयोजना डेढ दशक बितिसक्दा पनि पूरा हुन नसकेकाले स्थानीयवासी आक्रोशित भएका छन् । एक घर एक धारा पु¥याउने सङ्घीय र प्रदेश सरकारको लक्ष्य भए पनि पर्याप्त बजेट नहुँदा १५ वर्षअघिदेखिका योजनासमेत पूरा हुन नसकेको इञ्जिनियर शाहले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot