Logo

गाउँमै प्रयोगशला सेवा



फुङ्लिङ, १९ वैशाख । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गाउँमै प्रयोगशाला सेवा सञ्चालन आएको छ । केही वर्षअघिसम्म जिल्ला अस्पतालमा आउँदासमेत गर्भवती र विभिन्न समस्या हुने बिरामीले भिडियो एक्सरे गर्न निजी क्लिनिक पुग्नुपर्ने अवस्था थियो । रगत, पिसाब परीक्षण त परैको कुरा ।

तर अहिले फक्ताङलुङ गाउँपालिका–३ सिंवामा रहेको स्वास्थ्यचौकीमा एक्सरे र प्रयोगशाला सेवा सुरुआत भएको छ । ग्रामीण क्षेत्रका गर्भवतीलाई गाउँमै भिडिओ एक्स–रे र प्रयोगशालासेवा दिनका लागि गाउँमै प्रयोगशाला सेवा सुरु भएको छ । सदरमुकामका अस्पतालम्म आउनुपर्ने ग्रामीण क्षेत्रका गर्भवतीको स्वास्थ्य परीक्षण र प्रयोगशालासम्बन्धी सेवा सहज गराउने उद्देश्यले सिंवा बजारमा अवस्थित स्वास्थ्यचौकीमा आइतबारदेखि भिडियो एक्सरे र प्रयोगशाला सेवा सञ्चालनमा आएको फक्ताक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए ।

एक्सरे र प्रयोगशाला नहुँदा गर्भवतीले बर्थिङ सेन्टरमा बच्चा जन्माउने वातावरण नबन्ने र अन्यत्र जाँदा हजारौँ रकम खर्च गर्नुपर्ने समस्या आएपछि गाउँपालिकाले गाउँमै भिडियो एक्सरे र प्रयोगशाला सेवा दिने अभियान सुरुआत गरेको उनले बताए ।

फक्ताङलुङ गाउँपालिका क्षेत्रफलको हिसाबले नेपालको तेस्रो ठूलो गाउँपालिका पर्दछ । यस गाउँपालिकामा सात वडा छन् । सेंवा बजारमा प्रयोगशाला सेवा सुरुआत भएसँगै गाउँपालिका–१ सवादिन, वडा नं २ खेजिनेम, मामाङ्खे, चाकु र वडा नं ३ सेवा बजार, लिङखिम, तावा, थिवा क्षेत्रका नगरिकले सहजरूपमा सेवा लिन पाउने भएको फक्ताङलुङ गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । ती गाउँवासीले अब भिडिओ एक्सरे र प्रयोगशालाकै लागि मात्र सदरमुकाम तथा अन्य सहरका निजी क्लिनिक र अस्पताल धाउनुपर्ने बाध्यता हटेको फक्ताङलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले बताए ।

‘गर्भपरीक्षण र ल्याब सेवा नहुँदा गाउँमा प्रसूति केन्द्र भएर पनि विश्वास थिएन”, उनले बताए, “सेवा सुरु भएपछि बिरामीले विश्वास गर्ने वातावरण बनेको छ ।” यसका लागि रु १० लाख लगानी भएको उनले बताए । गत आइतबार सिंवा बजारमा प्रयोगशाला सेवा सञ्चालनमा आएसँगै फक्ताङलुङ गाउँपालिकाका नागरिकले दुई ठाउँबाट प्रयोगशाला र फार्मेसी सेवा सहजरूपमा पाउने भएको गाउँपालिकाले जनाएको छ ।

फक्तालुङ –५ तापेथोक स्वास्थ्यचौकीमा विगत चार वर्षदेखि नै प्रयोगशाला सेवा सुरु भएको गाउँपालिकाले जनाएको छ । तापेथोक स्वास्थ्यचौकीमा चिकित्सक साताको चार दिन र सेवा बजारमा रहेको स्वास्थ्यचौकीमा साताको दुइ दिन प्रत्यक्ष बिरामीको स्वास्थ्य परीक्षण तथा परार्मश सेवा उपलब्ध गराउने स्वास्थ्य शाखाले जनाएको छ ।

सरकारले निःशुल्क उपलब्ध गराएको औषधिबाहेक अन्य औषधि सहजरूपमा उपलब्ध गराउनका लागि तापेथोक स्वास्थ्यचौकी र सेवा स्वास्थ्यचौकीमा गाउँपालिकाले फार्मेसी सेवा सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले बताए । फार्मेसी सेवा सञ्चालन गर्नका लागि गाउँपालिका मूलपुँजी नमासिने गरी कोष स्थापना गरेर औषधि खरिद गर्दै आएको गाउँपालिका अध्यक्ष लिम्बूले बताए । फक्ताङलुङ गाउँपालिकामा सातवटा स्वास्थ्यचौकी र १४ स्वास्थ्य एकाइ सञ्चालनमा छ । रासस



प्रतिक्रिया दिनुहोस्