Logo

नेता/कार्यकर्तालाई ओलीको निर्देशन,- ‘आगामी निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्नुस्’



काठमाडौं, १९ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आज (मंगलबार) मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई पुनर्ताजगी र गतिशील बनाएर आगामी निर्वाचनमा ५१ प्रत्येक वडाबाट ५१ प्रतिशत भन्दा बढि मत पाउने गरी काम गर्न पार्टी निकट संगठनहरुलाई निर्देशन दिएका हुन् ।

‘आज हामी एउटा मजबुद स्थितिमा छौं । समग्र तलको स्थितिलाई बुझ्नका लागि यो मजबुद संगठनलाई पुनर्ताजगीका साथ, एमाले पनका साथ, एमाले प्रवृत्ति र एमाले मनका साथ एकताबद्ध बनाएर गतिशील कसरी बनाउने ? जसबाट आगामी दिनमा, आगामी निर्वाचनमा नेकपा (एमाले) ले एक्लै ५१ प्रतिशत भन्दाबढि हरेक वडामा ल्याउन पर्छ,’– उनले भने ।

आगामी निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने उनको भनाई छ । एमालले कसैको त्यान्द्रो नसमाई एकल बहुमत ल्याउन गरी काम गर्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेपालमा सोच विचार भएको र देशभक्ति भएको एमाले बाहेक अर्को पार्टी नभएको उनको दाबी छ । यस्तो अवस्थामा एमालेले आधा जनताको समर्थन प्राप्त गर्ने उनले बताए ।

‘एमाले यो सँग मिल्ने कि त्यो सँग मिल्ने कि ? त्यो त्यान्द्रो समाउने कि ? त्यो त्यान्द्रो समाउने कि ? यो होइन । आफ्नो बलमा, आफ्नो बुतामा एकल बहुमत ल्याउने गरी काम गर्नपर्छ । किन सकिँदैन ५१ प्रतिशत ? यस देशमा एमाले बाहेक सोच विचार भएको अर्को पार्टी छैन । देशभक्ति भएको अर्को पार्टी छैन । यस्तो अवस्थामा विकासको नीति र त्यो विकासलाई हाँक्नसक्ने एमाले बाहेक अर्को छैन । यस्तो अवस्थामा एमालेले आधाभन्दा बढि जनताको समर्थन प्राप्त किन नगर्ने ?’– ओलीले भने ।



प्रतिक्रिया दिनुहोस्