Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : ८ जना पक्राउ, दुई जना फरार



काठमाडौं, वैशाख २१ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । गृह मन्त्रालयका पूर्व सचिव एवं उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीपसहित ८ जना पक्राउ परेका हुन् ।

नेता रायमाझीका छोरा सन्दीपलाई प्रहरीले हिजो बेलुका बुटवलबाट पक्राउ गरेको हो । उनलाई आज काठमाण्डौ ल्याइँएको छ । सन्दीपलाई आज नै अदालतमा पेस गर्ने प्रहरीको तयारी छ । सांसद रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएकोबारे औपचारिक रूपमा सार्वजनिक गरेको छैन् ।

ठगी धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि केशव दुलाल, सानु भण्डारी, टङ्ककुमार गुरुङ, सागर राई र सन्देश शर्मालाई पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा प्रहरीले मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो । लगत्तै राईका छोरा निरज फरार भएका छन् ।

बहालवाला सचिव पाण्डेलाई प्रहरीले हिजो पक्राउ गरी अदालतमा उपस्थित गराएर तीन दिन थुनामा राख्न म्याद लिएको छ । पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक फरार छन् ।

यो गिरोहले झण्डै ९ सय जनालाई ठगी गरेको र प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म रकम उठाएको प्रहरीको प्रारम्भिक आकलन छ । ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्