Logo

बालिका बलात्कार कसुरमा ११ वर्ष कैद



मध्यविन्दु, २२ वैशाख । नवलपुर जिल्ला अदालतले १६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजाय सुनाएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–९ का मोहन पुनलाई एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सो सजाय सुनाएको जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलले बताए । “न्यायाधीश उमेशप्रसाद लुइँटेलकोे इजालासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष कैद र पीडितलाई रु एक लाख ५० हजार क्षतिपूर्ति भर्नुपर्ने आदेश गरेको छ”, उनले भने । पीडित बालिकालाई पुनले २०७७ साल भदौ १८ गते बलात्कार गरेको अभियोगमा २०७७ साल असोज २९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा उजुरी दर्ता भएको थियो ।

उजुरीपछि २०७७ साल कात्तिक ३ गते गिरफ्तार भएका पुनलाई नवलपुर जिल्ला अदालतले कात्तिक २६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । बालिकाको स्वास्थ्य परीक्षण ०७७ साल असोज २९ गते मध्यविन्दु जिल्ला अस्पताल डन्डामा गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्