Logo

एमाले सचेतकको प्रश्न : टोपबहादुर रायमाझी कहाँ हुनुहुन्छ ? (भिडिओसहित)



काठमाडौं, २५ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा संसदीय दलका सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझी कहाँ छन् ? भन्दै सरकारमाथि नै प्रश्न सोधेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘टोपबहादुर रायमाझी एमालेको सम्पर्कमा हुनुहुन्न । हामी सरकारलाई भन्न चाहन्छौं कि उहाँप्रति कानूनी प्रश्न सिर्जना भयो, अनुसन्धानको दायरामा आउने र उहाँले अदालतबाट सफाईको मौका पाउनुहुन्छ । त्यसको प्रमाणको भार पुर्याउने दायित्व उहाँ स्वयमलाई छ । यसका लागि एमालेले प्रष्ट के भनेको छ–हाम्रो पार्टीसँग जोडिएका कमरेडहरुको बारेमा प्रश्न उठ्यो भने हामी सघाउ पुर्याउँछौं । यसमा के छ भने आज हामीले संसदमा कुरा उठायौं । जोसुकै होउन्, सबै अनुसन्धानको रुपमा दायरामा आउनुपर्छ ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणको पनि संलग्नता रहेको भन्ने कुरा अभियुक्तको बयानको क्रममा खुलेको कुरा स्मरण गराए । उनले खाँणले विज्ञप्ती निकालेर खण्डन गरेर नहुने टिप्पणी गरे । उनले सरकारले यो प्रकरणमा निश्पक्षताका साथ अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot