Logo

अब आफ्नै घरमा दृष्टिविहीन दम्पती



जुम्ला, वैशाख २७ । जुम्लाको त्रिवेणीबाट पूर्व १० किलोमिटरको दूरीमा रहेको सर्मी गाउँछेउको साङ्लीपाटा पुगेपछि देखिन्छ एउटा सानो चिटिक्क परेको घर । भर्खरै बनेको नयाँ घरमा मुस्कुराइरहेका छन्, दृष्टिविहीन दम्पती गोरिकला तिरुवा र मानबहादुर कुँवर ।

धेरै भएको छैन उनीहरू भोटानचौरबाट सरेर यहाँ आएको । अरूकै सहारामा बाँचेका यी दम्पती यस वर्षबाट आफ्नै घरको छानामुनि बस्न पाउँदा दंग छन् । घर बन्नु अघिसम्म यिनीहरू गाउँभन्दा ३ किलोमिटर पर एकान्त क्षेत्र भोटानचौरमा गाउँलेको घरमा बसिरहेका थिए । कयौं रात भोकै सुतेका र अपमान सहेका दिन उनीहरूको मस्तिष्कमा ताजै छ । चार वर्षअघि मात्रै अन्तरजातीय विवाह गर्दा झन्डै गाउँबाटै निकालिनुपरेको थियो । नयाँ घरसँगै अहिले उनीहरूको जीवन पनि पे्रमले उज्यालिएको छ ।

जातीय विभेदको जालो तोडेको योगदान कुनै दिन त मूल्यांकन होला नि भन्दै गोरिकला भन्छिन्, ‘आफ्नै घरमा मर्ने धोको पूरा भएको छ, वडा कार्यालयले संरक्षण गरेकामा खुसी छौं ।’ तातोपानी गाउँपालिका वडा नम्वर ७ ले उनीहरूका लागि आधारभूत सुविधासहितको आवास निर्माण गरिदिएको हो ।

२ लाख लागतमा खानेपानी धारा, शौचालयसहितको दुईकोठे घर निर्माण गरिएको तातोपानी–७ का अध्यक्ष तिलक रावतले बताए । ‘सामाजिक सुरक्षा भत्ताको सहारामा बाँचेका यी दम्पतीले निकै कष्ट सहेकाले आवासको व्यवस्था गरिदिएको अध्यक्ष रावतको भनाइ छ । ‘हिमपात हुँदा र बर्खाको समयमा उनीहरू कष्ट सहन बाध्य थिए,’ रावतले भने



प्रतिक्रिया दिनुहोस्

Screenshot