टोपबहादुरले प्रहरीलाई मात्रै होइन एमालेलाई पनि ढाँटे, अहिले पर्यो महँगो


काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ। रायमाझी प्रतिनिधिसभा सदस्यपनि हुन् । पछिल्लो समय उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । उनीविरुद्ध बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो ।

उनी त्यतिवेला अर्घाखाँचीमा एक सार्वजनिक कार्यक्रममा अतिथिको रुपमा थिए । तर, भोलिपल्ट काठमाडौं आउने भनेर प्रहरी नेतृत्व र पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पनि निरन्तर सम्पर्कमा रहेका रायमाझी एकाएक फरार भए । अहिले उनी कहाँ छन् ? पार्टीलाई समेत अत्तोपत्तो छैन् ।

रायमाझीले पार्टीलाई ढाँटेको एमाले नेताहरुको निश्कर्ष छ । आज (बुधबार) महासचिव शंकर पोख्रेलले रायमाझीलाई उक्त प्रकरणको अनुसन्धान अन्तिम टुँगोमा नपुगेसम्म सबै पदबाट निलम्बन गरेको जनाएका छन् ।

रायमाझीलाई एमाले नेतृत्वले लुकाएको भन्ने आरोपपनि लाग्ने गरेको छ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेताहरुले पनि ओलीले नै रायमाझीलाई भगाएको आरोप सार्वजनिक रुपमै लगाउन थालेका छन् ।

तर, एमालेले भने रायमाझीले ढाँटेको निश्कर्ष निकाल्दै पदबाट निलम्बन गरेको छ। उनले संसद सचिवालयलमा भने आफू विरामी रहेको जानकारी गराएका छन् ।

पार्टी नेतृत्वलाई ढाँटा अहिले उनलाई त्यो महँगो सावित भएको छ । आजमात्रै प्रहरीले उक्त प्रकरणमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरिसकेको छ । file photo