एमाले नेताको प्रश्न– लडाकुले पैसा पाएको भए माओवादी नेताहरू किन तर्सिनुपर्‍यो ?


काठमाडौं, २९ वैशाख । नेकपा एमालेका नेता विष्णु रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी र बालकृष्ण खाँडमा आधारभूत फरक रहेको बताएका छन् ।
‘टोपबहादुरजीमाथि बिचौलिया र दलालको काम गरेको भन्ने आरोप मात्र छ । तर खाँडले गृहमन्त्रालयको नेतृत्व तहमा बसेर राष्टद्रोह गरेको हो । राज्यविरुद्धको अपराध गरेको हो । एमालेले टोपबहादुरजीलाई निलम्बन गरिसक्यो । कांग्रेसले खाँडलाई अझै गरेको छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नेता रिजालले भुटानी शरणार्थी पुनर्वासका नाममा भएको आर्थिक चलखेलमा संलग्नलाई बचाउने पक्षमा पार्टी नरहेको पनि दाबी गरे । उनले भने, ‘यो मुलुकको अन्तर्राष्ट्रिय छवि धुमिल बनाउने काण्ड हो । मुलुकको गृहमन्त्री र गृहसचिव नै संगठित अपराधमा संलग्न हुने ? यसमा जो तानिए पनि हामीलाई आपत्ति हुँदैन । हामीले बचाउने प्रश्नै छैन । यो अभियानलाई साथ दिनु राष्ट्रको हितमा हुन्छ ।’
जेठ ४ मा तपाईंको पार्टी अध्यक्ष केपी शर्मा ओलीले के पोल खोल्दै हुनुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा रिजालले भने, ‘हाम्रो पार्टीको केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकमा पार्टी अध्यक्षले शरणार्थी प्रकरण सांगोपांगो कुरा संसदमा बोल्छु भन्नुभएको हो । त्यसलाई मिसकोड गरिएको मात्र हो । प्रहरीले अनुसन्धान गरिरहेको कुरामा हामीले के पोल खोल्ने ?’
अर्को प्रसंगमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा पपुलिजमको निकृष्ट प्रयास भइरहेको आरोप पनि लगाए । उनले भने, ‘अहिले राजावादीहरुको चुरीफरी छ । रास्वपाको नाममा पपुलिजमको निकृष्ट काम भइरहेको छ । जसले नेपालको परिवर्तनका लागि एक थोपा पसिना बगाएको छैन, त्यसैले सबै दल चोर, डाँका, भ्रष्ट र अयोग्य हुन् भन्ने भाष्य स्थापित गर्न खोजेको छ । दलप्रति प्रहार गर्दै व्यवस्थामाथि नै प्रहार गर्न खोजेको छ । भाइरल हुनका लागि उटपट्याङ बोल्दै हिँडेको छ ।’
आफ्नो पार्टीले माओवादी लडाकु शिविरको भ्रष्टाचार छानबिन गर्न माग गरेको पनि रिजालले बताए । उनले भने, ‘हामीले मुलुकमा शान्ति स्थापना हुन्छ भन्ने सर्तमा लगानी गरेका थियौं । लडाकुले पाउने हिसाबकिताब किन राखिएन ? लडाकुले पैसा पाएको भए माओवादीका नेताहरु किन तर्सिनुपर्‍यो ?’