Logo

आजबाट पूर्ण रूपमा लागू भएको एमडीएमएस सिस्टम के हो ?



काठमाडौं,१ जेठ । नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सोमबारबाट पूर्ण रूपमा लागू गरिएको छ।

मोबाइलको आयातलाई व्यवस्थित र नियन्त्रण गर्ने उद्देश्यले स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली आजदेखि लागू भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेट एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ । यो सिस्टम कार्यान्वयनमा आएपछि अवैध आयात रोकिने छ ।

नेपाल भित्र मोबाइल खरिद गर्दा ती मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए नभएको हेरेर मात्रै किन्न प्राधिकरणले अनुरोध पनि गरेको छ ।

के हो एमडीएमएस सिस्टम ?

आजबाट पूर्णरुपमा लागू भएको एमडीएमएसको पूरा रूप ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ हो । यो नेपालको मोबाइल सेवामा जोडिएका फोनहरूको आधिकारिक तथ्यांक राख्ने प्रणाली हो ।

मोबाइल फोनको आयातको आधिकारिकता जाँच्न सक्ने गरी स्थापित प्रणाली भएकाले यसबाट भन्सार छलेर नेपालमा मोबाइल भित्रिन नदिने मुख्य उद्देश्य राखिएको छ ।
नेपाली बजारमा आउने फोन सबै वैधानिक माध्यमबाट आएका हुँदैनन् ।

बजारमा अवैध बाटोबाट पनि फोन आयात हुन्छ । भारतीय बजारबाटै पनि सीमावारि ल्याएर फोन बेच्ने गरिएको छ । यस्ता चोरीको बाटोबाट आउने फोनको रेकर्ड प्राधिकरणमा हुँदैन ।

यसैकारण वैधानिक बाटोबाट आएका फोन पहिचान गर्न र अवैध बाटोबाट आएका फोन नेपालमा चल्न नदिन यो प्रणाली बनाइएको हो ।

यसअनुसार आईएमईआई दर्ता नभएका फोन कालोसूचीमा पर्नेछन् र तोकिएको दिनभित्र दर्ता नगरिए मोबाइल सेवा दिन नसक्ने गरी ‘ब्लक’ हुने प्रधिकरणले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्