Logo

डा. आरजु देउवालाई नखाएको विष लागेको छ : रामकुमारी झाँक्री



काठमाडौं, २ जेठ । नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्री नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले उन्मुक्ति पाउने सवालै नरहेको बताएकी छन् ।
‘यो बहुआयामिक काण्ड हो । यसमा दृश्य र अदृश्य पात्रहरु जोडिएका छन् । नक्कली भुटानी शरणार्थी बनेर जान चाहने, बनाउन चाहने र बनाएर पठाउने चेनमा संलग्न सबैलाई प्रमाणका आधारमा कारबाही गर्नुपर्छ । नेपाल प्रहरीले आफ्नो व्यावसायिक छवि र कानुनले दिएको अधिकार बमोजिम काम गरिरहेको छ । यसमा कसैले उन्मुक्ति पाउने सवालै छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै झाँक्रीले भनिन् ।
प्रधानमन्त्री र गृहमन्त्रीले नै कसैको दबाबमा काम गर्दैनौं भनिसकेपछि यसबारे आशंका गरिरहनुपर्ने कारण नभएको उनको जिकिर छ । झाँक्रीले भनिन्, ‘यसमा कसैको राजनीतिक दबाब छैन । जो कोही भए पनि निष्पक्ष अनुसन्धान हुन्छ भन्ने प्रतिबद्धता आइरहेको छ । यसमा हामीले अनुसन्धानकर्मीको मनोबल कमजोर बनाउने भन्दा पनि बढाउने काम नै गर्नुपर्छ ।’ राज्यविरुद्धको अपराध गरेर सजिलरी पैसा कमाउने प्रवृत्ति घातक रहेको उनको टिप्पणी छ ।
सांसद डा. आरजु राणा देउवामाथि ‘साइबर बुलिङ’ र ‘मिडिया बुलिङ’ भइरहेको आरोप पनि झाँक्रीले लगाइन् । उनले भनिन्, ‘उहाँको बारेमा मैले बचाउ गर्नुपर्ने त होइन । तर पनि उहाँलाई पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दलको सभापतिकी पत्नी भएकाले नखाएको विष लागेको छ । कुनै अनुसन्धान नगरीकन फ्याक्ट वा फाइन्डिङ नभईकन फलानो-तिलानो बोषी हो भनेर अनावश्यक विवादमा मुछिएको छ । यो साइबर र मिडिया बुलिङकाबावजूद संसदमा आएर कन्फिडेन्टसाथ छानबिन गर्नुपर्छ भनिरहनुभएको छ । जुनसुकै घटनामा आरोपित गरेर कसैको चरित्रहत्या गर्नु उचित होइन । यस्तो घटनाले सम्बन्धित व्यक्तिमा कति मानसिक असर गर्छ, पछिल्लो दुई वर्षमा म आफैं भुक्तभोगी हुँ ।’
अर्को प्रसंगमा नेतृ झाँक्रीले सरकारको मूल्यांकन गर्ने बेला भइनसकेको पनि बताइन् । उनले भने, ‘प्रधानमन्त्रीको सय दिन भयो, अरु मन्त्रीको भएको छैन । सरकार सही बाटोमा छ कि छैन, भन्न केही समय पर्खनैपर्छ ।’



प्रतिक्रिया दिनुहोस्